हेटौँडा, २९ असोज ।
आज विश्व हात धुने दिवस । हरेक वर्ष अक्टोबर १५ तारिखका दिन मनाइने यो दिवस आज विश्वभर जनचेतनामूलक कायृक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि संक्रमणहरूका कारण लाखौँले मृत्यु भोगिसकेको तथ्याङ्कले भन्छ । अझ पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडौँको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।
खाना खानुअघि, खाएपछि, शौचालय प्रयोगपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्नु जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मिचीमिची धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडा–पखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडा–पखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा थियो । तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै हुन्छ ।
यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वास्थ्यपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैरसरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यो दिवस भव्यताका साथ मनाइन्छ ।