–मीनाकुमारी लामा
तत्कालीन हेटौंडा नगर पञ्चायतका निर्वाचित जनप्रतिनिधिज्यूहरुको पहिलो बैठक बसेको ऐतिहासिक दिन २०२६ साल फागुन १ गतेको स्मरण गर्दै हेटौंडा नगर निर्माणको इतिहासलाई जोड्ने प्रयासस्वरुप पहिलोपटक यसै वर्षदेखि नगर स्थापना दिवस मनाउने हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णय भएको हो । यस महत्वपूर्ण अवसरमा सम्पूर्ण हेटौंडाबासीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
वि.सं. २०११ र २०१८ सालको पहाडी क्षेत्रमा गएको बाढीपहिरो, त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्ग निर्माण, भित्री मधेशको प्रमुख समस्या रहेको औलो उन्मूलन, हेटौंडा औद्योगिक क्षेत्र स्थापनाको पृष्ठभूमिबाट शहरीकरण बढ्दै बि.सं.२०२६ सालमा गठन भएको तत्कालीन हेटौंडा नगरपञ्चायत आज बागमती प्रदेशको राजधानी शहर हेटौंडा उपमहानगरपालिकाको अवस्थामा आइपुग्न निकै आरोह अवरोह पार गरेको छ । इतिहास निर्माण निरन्तर प्रक्रिया हो । तत्कालीन परिस्थितिमा प्रचलित कानुन, परिवेश, उपलब्ध श्रोतसाधनको सीमितताभित्र रहेर आजको हेटौंडा निर्माणमा हाम्रा पूर्वज जनप्रतिनिधिले गर्नुभएको त्याग, क्रियाशीलता एवम् समर्पणभावकै उपज आजको हेटौंडा हो ।
५४ औं नगर स्थापना दिवस मनाउंदै गर्दा नगर स्थापना पूर्व नगरपञ्चायत घोषणाका लागि आवश्यक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्ने तत्कालीन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च स्व.बुद्धिलाल राजथला, नगर पञ्चायतका संस्थापक प्रधानपञ्च स्व. बासुदेव रिजाल हुदैं यस नगरको नेतृत्व गर्नुहुने समस्त तत्कालीन प्रधानपञ्च तथा नगर प्रमुखहरु र जनप्रतिनिधिविहीन अवस्थामा तत्कालका लागि नेतृत्व गर्ने राष्टसेवक कर्मचारी तथा उक्त टिमलाई सहयोग गर्ने तत्कालीन राजनीतिक दलका प्रतिनिधिहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।
जग्गा विकास तथा टाउन प्लानिङमार्फत व्यवस्थित शहरी विकासका लागि अघि बढाउनु भएको प्रयास, अन्तर्राष्ट्रिय परिदृष्यमा पहिचान गराउन गर्नुभएको प्रयास, स्वच्छ सफा उत्कृष्ट शहर बनाउन खेल्नु भएको भूमिका, योजनाबद्ध सन्तुलित विकासको थालनी, प्रदेश राजधानी कायम गराउन खेल्नुभएको भूमिका एवं समन्वय जस्ता महत्वपूर्ण जगमा नै टेकेर संघीय शासनप्रणालीको थालनी भएपश्चात स्थानीय सरकारको हैसियतमा निर्वाचित भएका नेतृत्वले निरन्तर पूर्वजका पदचापलाई पछ्याएको छ ।
हेटौंडा हामी सबैको साझा घर हो । कर्मथलो हो । यसको समृद्धि हामी सबैको चाहना हो । यसै यथार्थलाई मनन गरी हेटौंडाको व्यवस्थित विकासका लागि महत्वपूर्ण योगदान गर्ने आदरणीय पूर्व जनप्रतिनिधिहरुलाई हामीले सम्मान गरेका छौं । साथै विभिन्न विधागत क्षेत्रबाट उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तित्वलाई सम्मान गरेका छौं । सम्मानित व्यक्तित्वहरुबाट निरन्तर समन्वय र उचित मार्गदर्शन र सहयोगको अपेक्षा गर्दछु ।
पर्याप्त गुणस्तरीय पूर्वाधारसहितको सफा हेटौंडा स्वस्थ हेटौंडा अभियानमार्फत नगरबासीको सहभागितामा स्वच्छ, सृजनशील, समृद्ध औद्योगिक नगरको परिकल्पनासहित मुलुककै उत्कृष्ट शहर निर्माणमा सबैको साथ सहयोगको लागि अनुरोध गर्दछु ।
(५४ औँ नगर स्थापना दिवसका अवसरमा प्रमुख मीना लामाले गर्नु भएको सम्बोधनको सम्पादित अंश)