हेटौँडा, १ फागुन । अघिल्लो संसदीय कार्यकालमा विवाद र चर्चामा आएकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरकी छन्।
उनले गत २४ गते पार्टीको दाङ जिल्ला कमिटीमा राजीनामापत्र बुझाएकी हुन्।
राजीनामापत्रमा उनले आफूलाई पार्टीले बेवास्ता गरेको र प्रयोग मात्र गरेको उल्लेख गरेकी छन्।
‘मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु’ उनले राजीनामा पत्रमा भनेकी छन्।
२०७४ सालको चुनावमा दाङबाट प्रदेश सांसद जितेका एमालेका उत्तरकुमार वलीको निधनपछि पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन्।
त्यसबेला एमाले र माओवादी केन्द्र एक भइ नेकपा कायम थियो। सर्वोच अदालतबाट नेकपा विभाजन भएपछि विमलालाई सत्ताको खेलमा प्रयोग गरिएको थियो। उनले माओवादी केन्द्र रोजेकी थिइन्।
‘म माओवादी प्रवेशलाई संघर्षका रूपमा बुझेँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो। यो बीचमा केही उत्तारचढाव आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो’ उनले राजीनामा पत्रमा भनेकी छन्।
लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
वलीले सापटी पैसा लिन जाँदाको विषयलाई लिएर जबरजस्ती मन्त्रीबाट राजीनामा दिन लगाएको उल्लेख गरेकी छन्।
‘ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेको इतिहास हामीसामू छन्, तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा दिन लगाइयो। त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन’ राजीनामा पत्रमा उनले भनेकी छन्।