-बनस्तम थिङ

मनहरी सिम्पानीले धेरै राम्रा युवा अकालमै गुमाइरहेका छन् वर्षैपिच्छे । एक्सिडेन्ट परेर देहान्त भएका प्रिय भाइ मिलन मोक्तानको शव अन्त्यष्टिबाट फर्केपछि एकतमास मनलाई सम्हाल्नै गाह्रो भयो । एउटै घरमा दुईदुई जना युवाको पार्थिव शरीर कहिल्यै नउठ्ने गरी निदाइरहेको थियो । लामाहरु आफ्नै कर्ममा पाठपूजा गर्दै थिए ।

मृतक भाइहरुको घरभन्दा ५ मिटर आसपासमा त्यस ठाउँका जान्नेमान्ने भन्नेहरु तासको खेल सिक्वेन्स मिलाउदै (अल्टर सल्टर) भनेर माल गन्दै थिए । घर आएपछि धेरै कुरा मनमा खेलिरह्ह्यो । सोचेँ, ठूलो ठूलो व्यवसाय गर्ने र आलिशान बंगलामा निदाउनेहरु पनि सिम्पानीमै छन् । महंगो महंगो गाडी चढेर हिँड्नेहरु पनि त्यहीँ छन् । सबै राजनीतिक दलबाट अग्रभागमन भूमिकामा रहनेहरुको घर पनि त्यहीँ रहेछ । हिजोदेखि आजसम्म पटकपटक सत्ताको बागडोर सम्हाल्न पुगेका सत्ताको प्रमुखहरुको स्थायी बसोबास पनि त्यहीँ छ । देशकै नमूना बहुउद्देश्यीय धनी सहकारी पनि त्यहीँ ठाउँबाट सञ्चालित छन् । जिल्लाकै नमूना र धनी निजी विद्यालय पनि सिम्पानीमै रहेछ । अन्य धेरै गर्विलो परिचय र इतिहास बोकेका थुप्रै सामुदायिक तथा निजी संघसंस्थाहरु त्यहीँ सिम्पानीमै छन् ।

कसरी बाँचिरहेका छन् त्यो समाजमा रहेका नेतृत्वदायी भूमिकामा रहनेहरु ? किन बेखबर छन् यस्ता दुर्घटनाबाट उनीहरु ? दुर्घटनामा परेर मरियो भनेर समवेदना पोखाएर मात्रै हुँदैन, त्यो समाजमा बस्ने अगुवाहरुले कि यति अकालमै युवा किन मरिरहेका छन्, यसको कारण खोजी गरिनुपर्छ । धनी सहकारी छ, युवा बेरोजगार छन् । बिहानैबाट आफ्नो जिन्दगी माया मारेर युवा किन कुलतमा फसिरहेका छन् ? किन निर्विकल्प नशा पिइरहेका छन् ? यति धेरै धनी मान्छे बसोबास गर्ने ठाउँमा स्कुल, क्याम्पस चैँ किन चल्नै नसक्ने अवस्थाको गरिब भइरहेको छ ? यस्तै थुप्रै प्रश्नहरुले बेर्छ कि बेर्दैन होला त्यो समाजको अगुवाहरुलाई ?

अलिअलि युवा बुद्धिजीवी भनिनेहरुको मनोदशा पनि उस्तै देखिन्छ । मैले बुझेको र केही साथीभाइलाई भनिसकेको पनि छु । समाज यस्तै छुद्र बित्तीय होडबाजीमा लागेपछि यस्तै सारको सामाजिक चरित्र सिम्पानीमा लगभग एकदशकदेखि निर्माण भइरहेको थियो ।

यसको असर एकदुई वर्ष यता देखिन थालेको छ । समाजमा निर्माण भइरहेको मनोविज्ञानलाई त्यस ठाउँका नेतृत्व तहले बुझ्ने र बदल्ने कोसिससम्म गर्न सकेन भने यस्तो दुर्घटनाको दोष स्वयम् उनीहरुलाई जान्छ । को मान्छे कसरी खाइरहेको छ, को कसरी बाँचिरहेको छ, यसको विवरण लिनुपर्छ । यसको उचित सम्बोधन सकेसम्म त्यही समाजका अगुवाले लिनुपर्दछ । कहिले सुल्टो हुन्छ हाम्रो मनु चेतना रु नेताहरुलाई बेरोजगारले थिलोथिलो हुँदा रोजगारी माग्यो पाइँदैन, त्यही नेताहरु मरेपछि फूल चढाउन ल्याउनुपर्ने, आइपुग्नु पर्ने, सडक विस्तारका लागि जोड नगर्ने नेताहरु सवारी दुर्घटनामा दिवंगत भएका युवालाई श्रद्धाञ्जली दिन आउनुपर्ने । हामी डाँडामा बस्छौं, डाँडाको आखिझ्यालबाट यस्तै देखिन्छ ।

(थिङ, राक्सिराङ गाउँपालिका उपाध्यक्ष हुन्)