हेटौँडा, ३० पुस । ‘जति जोगी आए पनि कानै चिरेको, चुनावअघि आश्वासन दिने अहिले टेर पुच्छर नलाउने, भोकै मार्छन् एकदिन यिनले,’ चुल्होमा आगो फुक्दै थाहानगर पालिका वडा नम्बर ६ का उत्तम मगर नेतालाई सम्झेर भन्छन्, ‘चार बोरा आलु रोप्ने तयारीमा छु, त्यसका लागि रासायनिक मल चाहिएको छ ।’
बरु आकाशका तारा खसाल्न सकिएला तर आलु खेतीको पकेट क्षेत्र मानिएको थाहा नगरमा १० किलो मल पाउन पनि कृषकलाई ज्यादै कठिन छ । त्यसैले हरेक दिन उनी नेता र गाँउका अगुवा भन्नेहरु भेटियो कि यही वाक्य दोहो¥याँउछन् । दिँउसो मात्र होइन सुतेको बेला पनि उनले ‘१० किलो मल दिन नसक्ने के नेता रु’ भनेर बर्बराउन थालेको धेरै भयो ।
उनको गुनासो छ, ‘माघ ३ गते आलु रोपौँ कि भनेको । मल छैन बजारमा ।’ तीनपटक बजार आएर लाइन बस्दा समेत रित्तो हात फर्किनु परेपछि उनको रिसको पारो ह्वात्तै बढेको देखिन्छ ।
यतिखेर थाहा नगरपालिकाका सबै वडाका अधिकांश किसानले आलु रोप्न खेतबारी खनजोत गरेर तयारी अवस्थामा राखेका छन् । बिउका लागि शितभण्डारणमा पठाएका आलु घरघरमा आइसकेको छ । माघको पहिलो सातादेखि किसानलाई आलु रोप्ने चटारो शुरु हुन्छ तर रासायनिक मलको अभावले किसानको ओठ, मुख र तालु सुक्न थालेको छ ।
गाँउघरको साझा (सहकारी) पसलले उपलब्ध गराएको २० किलो मल बोकेर घरतिर उक्लँदै गरेका श्याम लामिछानेलाई उकालोको स्याँ स्याँले भन्दा पनि कसरी रासायनिक मल जोहो गरेर २० रोपनी खेतमा आलु रोप्ने भन्ने चुनौतीले बडो तनाव पारेको छ । बाटो छेउको चौतारामा मलको पोको बिसाउँदै उनी दुखेसो गर्छन्, ‘मलको अभाव भएको धेरै भयो । खेती नगरी खान पुग्दैन । खेती गर्न समयमा मल आइपुग्दैन । आइपुगी हालेपनी पुग्ने गरि आइपुग्दैन ।’
थाहा नगरमा करिव ८० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर छन् । यहाँको २ हजार ७ सय हेक्टर जमिन खेतीयोग्य छ । एकै सिजनमा तीनपटकसम्म बाली लगाउन सकिने यो क्षेत्रमा मलकै अभावका कारण किसानले सोचे जस्तो प्रतिफल लिन सकिरहेका छैनन् ।
अहिले आलु रोप्नको लागि थाहा नगरको १ हजार ३ सय हेक्टर जमिन तयारी अवस्थामा छ तर संघीय सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकेको कारण किसानमा चरम संकट र सन्नाटा दुवै छ ।
आलु रोप्न खेतमा ट्याक्टर जोतिरहेका अर्का किसान शनिसिंह ठकुरीको पनि गुनासो कम्तीको छैन । ‘मल पाएकै छैन, यस्तो चटारोमा घण्टौँ लाईन बसेर पनि मल नपाइने स्थिति छ,’ भन्छन्, ‘अब कोल्ड स्टोरबाट ल्याएको आलु तरकारी पकाएर खानुको विकल्प छैन।’ निधारको पसिना पुछ्दै उनले आफ्नो भित्री मनको बह पोखे ।
समयमै आफूहरुले मल पाउन नसकेको कारण कृषकहरुले किसान संघर्ष समिति नै बनाएर आन्दोलन थालेका थिए । सोही समितिका तर्फबाट नगरपालिकामा धर्नासमेत दिइएको थियो । तर पनि ठोस पहल कसैले पनि नगरेपछि किसान अलपत्रमा परेको संघर्ष समितिका संयोजक लक्ष्मण बर्तौलाले गुनासो गरे ।
बर्तौलाको अगुवाईमा नगर प्रमुख बिष्णु बिष्टसमक्ष कृषकको माग लिएर ज्ञापनपत्रसमेत बुझाए । तर प्रमुख विष्ट आफैँले ‘तपाइँहरुको आन्दोलनमा मेरो पनि समर्थन छ, मिलेर संघर्ष गरौं’ भनेर निरिहता प्रदर्शन गरेपछि आफुहरुको बोल्ने बाटो हराएको बर्तौलाको बुझाई छ ।
संघीय सरकारले समानुपातिक प्रणालीबाट मल वितरण गर्दै आइरहेको छ । थाहा नगरपालिकाले त्यहीअनुरुप केही मल त प्राप्त गरेको छ तर यो प्रणालीबाट मल वितरण गर्नु न्यायसंगत नरहेको ठम्याई संयोजक बर्तौलाको छ । ‘कुनै जिल्लामा यो मौसममा खेती हुँदैन् । त्यता मल सञ्चित हुने अवस्था छ भने यता अपुग छ,’ उनी भन्छन् ।
यता चुनावअघि नवनिर्वाचित संघीय सांसद महेश बर्तौलाले थाहानगर आएर किसानको नाममा सम्बोधन गर्दा मल उपलब्ध गराउने प्रतिबद्दता व्यक्त गरेका थिए । चुनाव जित्नासाथ तात्तातोमा हेटौंडास्थित मल गोदाम र सिंहदरबारको कृषि मन्त्रालयमा सचिव भेटेर मलको लागि चासो राखेको तस्बिरहरु पनि सार्वजनिक भएका थिए । तर पनि हात लाग्यो शुल्य अर्थात किसानका समस्या भने ज्यूँ का त्यूँ छ ।
यही समस्याका बीचमा एक सहकारीको साधारणसभा उद्घाटन गर्न पालुङ आइपुगेका सांसद बर्तौलाले अब भने आफ्नो भनाई फेर्न थालेका छन् । हिजोका दिनमा किसानलाई जसरी पनि मल ल्याउछौं भन्ने उनी अहिले भने ‘सायनिक मल आएन, अब अर्गानिक खेती थाहानगरले शुरु गर्नु पर्छ’ भन्न थालेका छन् । उनको यो भनाइपछि किसानहरुले खिन्नता प्रकट गरेकका छन् ।
एक सामान्य किसानलाई ६ बोरा देखि २० बोरासम्म मल आवश्यक पर्ने भए पनि किसानले १० देखि २० किलो मल लिएर घर जानु परेको छ ।
नगरपालिकाले प्रत्येक वडामा २–३ वटा वितरण केन्द्र बनाएर मल वितरण गरिरहेको र आफ्नो सहकारीमा युरिया ३० बोरा र डिएपी मल ६० बोरा गरेर जम्मा ९० बोरा आइपुगेको भए पनि १ सय ३० घरलाई वितरण गर्नु पर्ने चुनौती रहेको साना किसान सहकारी संस्था बज्रबाराहीका अध्यक्ष महेश्वर सुवेदी बताउँछन् ।
उसो त गत मंसिर महिनामै थाहा नगर प्रमुख बिष्णु बिष्ट नेतृत्वको एक टोलीले बाग्मती प्रदेशका मूख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतलाई भेटी बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रमा रासायनिक मलको अभावका कारण उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका थिए ।
छलफलकै क्रममा त्यतिखेर मूख्यमन्त्री पाण्डेले सहजरुपमा मल उपलब्ध गराउन पहल भइरहेको र थाइल्यान्डको एक कम्पनीसँग सहकार्य गरी बागमती प्रदेशमै रासायनिक मल कारखाना स्थापनाको पहल भइरहेको बताएका थिए । तर पहल पहलमै सीमित भएको भन्दै किसान यतिबेला झनै आक्रोशित बनेका छन् ।
मल किन यसरी अभाव भइरहेको छ ? कहिलेसम्म यो समस्या यहाँका किसानहरुले भोग्नु पर्ने हो ? कहिलेदेखि किसानले ढुक्क भएर खेती गर्न पाउँछन् ? यी यस्ता प्रश्नहरु नगरपालिकाका मेयर बिष्णु बिष्टसमक्ष राख्दा उनी भन्छन्, ‘यो विषयमा मेरो पनि गम्भीर ध्यानाकर्षण छ । यो थाहा नगरको मात्र नभई देशकै समस्या हो । स्थानीय र प्रदेश सरकारको पहलले मात्र यो समस्या समाधान नहुने देखिन्छ ।’
प्रमुख विष्टका अनुसार सरकारले देशभरको मल व्यवस्थापनका लागि ३० देखि ३२ अर्ब रुपैयाँ बजेट छुट्याउन पर्नेमा जम्माजम्मी १५ अर्ब रुपैयाँ छुट्याउनु नै समस्या हो । उनको दावी छ, ‘यसले गर्दा स्थानीय र प्रदेश सरकारले बनाएको कार्यविधिले मात्र यो सम्भव हुन सकेको छैन ।’ तर स्थानीय आरोप लगाँउछन्, ‘मेयर किसानको लागि चिन्तित देखिए पनि समस्या समाधानमा डटेर लागेको देखिँदैन् ।’

त्यसो त पछिल्ला दिनमा गाँउका पसलमा अलि अलि मुस्ताङ मल आएको छ । तर किसान त्यसलाई प्रयोग गर्न हिच्किचाउँछन् । नयाँ भएकाले के हो कसो हो भन्ने दुविधा छ । चितवन, हेटौँडातिरबाट अलि अलि युरिया डिएपी मल ल्याइएको पनि छ तर त्यसको दाम अत्यन्तै महंगो छ ।
अभावका बीच कालोबजारी गरेर मौकामा चौका हान्ने केही व्यापारीको दाउप्रति पनि सचेत उपभोक्ता र प्रशासनले निगरानी बढाउनुपर्ने अवस्था छ । मकवानपुरले देशको कुल मलको १० प्रतिशत मात्र प्राप्त गर्ने व्यवस्था छ र सो मल १ सय १९ स्थानीय तहलाई समानुपातिक ढंगले दिनु पर्ने बाध्यकारी अवस्था छ । जसका लागि जनप्रतिनिधि एकजुट भएर सरकारलाई दबाब दिनु पर्ने स्थानीय बताँउछन् ।
किसानले झेल्नु परेको यो समस्याको समाधान तत्काल हुने देखिँदैन । स्थायी समाधानका लागि सरकार आफैँले रासायनिक मलको कारखाना स्थापना गर्नुको विकल्प छैन । (दामन पोष्ट डटकममा सुवास खुलालले लेख्नु भएको समाचार)