–रामकुमार एलन
घर कहाँ, झोलामा के छ, कहाँ हिडेको, परिचयपत्र छ ? मुखमुखै लाग्छस्, खल्तीको के हो, ज्यान छामु त, मोजाभित्र के छ, पार्टीको नेता होस्, चन्दा दिने व्यापारी होस्, कि छापामार परिस्, हतियार पु¥याउन आइस् कि ? हुन त यो सोधपुछ मात्र हो । कडा प्रश्नमा खडाखडा भएर नरम उत्तर दिनु नै उत्तम हुन्छ ।
सुरक्षा निकायलाई गाउँको हालखबर सोध्ने यो मौका पनि हो । गाउँघरमा आफ्ना बाउआमाको हालत बुझ्ने अवसर पनि हो । रामेछाप घर भन्यो भने दोरम्बाको योजनाकार भन्ला भन्ने डर । दाङ घर भन्यो भने जनसरकारको मान्छे किन सरकारी गाउँमा आएको भनेर सोध्छन् । सर्लाही त भन्नै हुन्न, जनताले प्रतिकारमा उत्रेर माओवादी खोज्न थालेपछि भागेर काठमाडौँ आइस् भनिहाल्छन् । मर्ने बेलामा डाँका मरेछन्, भन्ने वेलामा माओवादी । गाउँमा माओवादीले चैं फेला पार्यो भने के भनेर फुत्किने ?
दमका रोगीले ख्वाक्क खोक्दा पनि बम पड्क्यो भनेर भागदौड मच्चिने बेलामा भीडमा धेरैबेर बस्नु पनि फाइदा छैन । बांगो र टिंगो प्रश्न सोधेर सोधपुछका नाममा हत्तु पारे पनि अन्ततः हात लाग्यो शून्य । डाक्टरले छाम्नु पर्ने करङ पनि छामेका छन्, बेलाबखत झर्कोफर्को गर्दै बुटले पनि डामेका छन् । सोधपुछको यो काइदाले कति फाइदा पुग्यो कुन्नि, संसारमै सबैभन्दा धेरै पटक ’चेकिङ’ गरेको अनुभव चैँ पक्कै हुन्छ । राजधानीबाट फर्किदा पनि चेकिङ भइहाल्छ । फेरि कोरल्याँटो प्रश्नको उत्तर दिँदै हैरान । के–के योजना छ, कति पावरको टावर छ ? कहाँ कहिले हान्ने, आदि–इत्यादि । दाह्री किन पालेको अथवा त्यतिराम्रो दाह्री किन फालेको ? नानाभाँतीका प्रश्नका तांँती लाग्न छाड्ने होइनन् । गाउँघरका सबैलाई सम्झ्या’छ भन्दिनु रे । सम्झना सुनाइदिनु रे । गाउँमा सेना र प्रहरीको परिवारलाई परेको बेलामा कल्ले घरघरमा गएर सम्झना सुनाउनु । त्यहाँमाथि नेपालको सडक, असारे हिलोभन्दा गिलो । सञ्चो ज्यान लिएर हिंड्यो, यात्रामा थिलोथिलो । एक त पुग्न ढिलो, अर्को ज्यादै झन्झटिलो ।
धुकधुकी सास राखेर जिउँदो लाश बोकेर गाउँ आइपुग्यो कि अर्को त्रास शुरु भइहाल्छ । घरपरिवार भक्कानिएर रुन्छन्, बेखबर हुँदा आस मात्र रहेको सुनाउँछन् । नयाँ सत्तामा टिक्न झन गाह्रो । विना पोशाकमा आएर रवाफ देखाउँछन् । जवाफ दिनै गाह्रो । पार्टीको नाम लियो कि मार्ला भन्ने डर । अंग भंग पार्ला भन्ने डर । चन्दा मागे भने के दिने ? गाउँमा रिस गर्नेहरुले नानाथरिको उजुरी दिँदा रहेछन् । आएर बन्दुक माग्छन्, खुकुरी माग्छन् । पैसा माग्छन्, छोरा माग्छन् । के चैँ दिएर चित्त बुझाउने ? चन्दा दिन प¥यो भन्छन् । पार्टी र गाउँ छाड् भन्छन् । विना पुर्जी हप्ते तारिक लगाउँछन् । झोक चले मृत्युदण्ड सुनाउँछन् ।
सेना र प्रहरीको परिवारको गन्ध थाहा पायो कि संविधानसभाको चेकिङमा परेपछि कि गाउँ छाड्नु पर्छ कि हंशले ठाउँ छाड्छ । अचेल यिनै दुईले चेकिङ गरेर नेपालीलाई दुब्लो बनाएका छन् । गाउँघरमा बिरामी प¥यो कि धामीझाँक्री लगाउनु पनि पर्दैन । यता चेकिङमा परेपछि उताकाले खोज्ने, उताको चेकिङमा परेपछि यताकाले खोज्ने । चेकिङ गराउँदा गराउँदैको हैरान । दुईतिरको चेकिङ जारी छ । लौ, चेकिङ टोली आयो जस्तो छ, ढोका ढकढक गर्न थाले । कतापट्टिको चेकिङ आयो कुन्नि ? उर्दी आउन थाल्यो । सुरक्षा घेराको धाक लगाउन थाल्यो । लौ, पक्कै पनि ठूलो कमाण्डो आयो जस्तो छ । ढोका खोलौँ कि नखोलौँ । तातो गोली आउने हो कि, बोली नै निस्कन नपाउने हो कि ? जे होस्, ‘चेकिङ’ आयो ।
२०६० असोज १० गतेको नेपाल समाचारपत्रबाट ।