हेटौँडा, २५ पुस । बागमती प्रदेशमा मुख्यमन्त्री बन्नु भएका शालिग्राम जमरकट्टेलबारे जानकारीः
शालिग्राम जमरकट्टेल, बागमती प्रदेशका चौथो मुख्यमन्त्री । यसअघि पनि बागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री र शक्तिशाली मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि मन्त्री । नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशमा अघिल्लो कार्यकालमा पनि संसदीय दलका नेता, यसपटक पनि सर्वसम्मत संसदीय दलका नेता हुँदै राजनीतिक भागवण्डामा एमालेसँग बाँडिएको आधाआधा मुख्यमन्त्रीमा पहिलो कार्यकालमा मुख्यमन्त्री । पार्टीमा पोलिटब्युरा सदस्य र धादिङबाट तेस्रो कार्यकालका लागि माननीय पनि निर्वाचित ।
सोमबार बागमती प्रदेश प्रमुख यादव शर्माले जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । त्यसअघि उहाँ सोमबार बागमती प्रदेश प्रमुख यादव शर्माले जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । त्यसअघि उहाँ आफूलाई मुख्यमन्त्री दाबी गर्दै १ सय १० सदस्यीय बागमती प्रदेश सभामा सहभागी नेकपा एमालेको २७ र राप्रपाको १३ सदस्यको समर्थन अनि नेकपा माओवादी केन्द्रको २१ सदस्य साथमा लिएर मुख्यमन्त्रीमा आवश्यक ५६ सदस्यीय बहुमतमा ६१ सदस्यसहित सुरक्षित हुनु भएको हो । पछि उहाँलाई थप दुई पार्टीको पनि समर्थन भएपछि उहाँका पक्षमा ७० सदस्य पुग्नु भएको छ । एमालेका डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य अनि नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेपछि माओवादीबाट मुख्यमन्त्री बन्नु भएका जमरकट्टेललाई संसदको ठूलो दल नेपाली कांग्रेससहित अन्य ४९ सदस्यको प्रतिपक्षी भूमिका सामना गर्नुछ, सफल कार्यकाल पार गरेर दुई वर्ष ६ महिनापछि नेकपा एमालेलाई नै पाँचौँ मुख्यमन्त्रीको तालाचाबी बुझाउनु पर्नेछ ।
२०७४ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट निर्वाचित जम्मरकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनु भएको हो । २०३० साल भदौमा साविकको धादिङ किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिनु भएका जम्मरकट्टेल पार्टीको धादिङ जिल्ला इन्चार्ज हुनुहुन्छ । २०४४ सालमा अखिल छैठौँमा आबद्ध भएर राजनीतिमा होमिनु भएका जमरकट्टेल २०४८ मा मजदुर संगठनमा आवद्ध हुनु भयो । औद्योगिक मजदुर संगठन ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उहाँ २०५२ मा माओवादी युद्धमा होमिनुभयो । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उहाँ २०६० मा एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष हुनु भयो र उद्योगका मजदुरको मुद्दा उठाएर जनतामा स्थापित हुनु भयो ।
बी ए, बीएलसम्म अध्ययन गर्नुभएका जमरकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइ मात्र बनाउनु भएन, २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायिका हुने मौका पाउनु भयो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तत्कालीन प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्नुभएपछि चर्चा अरु चुलियो । २०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा भने उहाँ पाण्डेसँगै पराजित हुनु भयो । डोरमणि पौडेल र राजेन्द्र पाण्डेसँग लामो समय मन्त्री हुने मौका पाउनु भएका जमरकट्टेल मुख्यमन्त्रीको पदमा पुगिरहँदा उहाँहरुसँगको व्यवहार र बदलिँदो राजनीतिक अवस्थाको चुनौती सामना गर्दै जनमुखी सुशासनयुक्त समान व्यवहार सबैले अपेक्षा गरेका छन् ।