हेटौँडा, २४ पुस । पछिल्लो दुई वर्षमा झन्डै सात लाख स्वदेश फर्किएका छन् । श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार आ।व। २०७७–७८ र २०७८–७९ मा छ लाख ७४ हजार ९ सय १२ जना स्वदेश फर्किएका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सञ्चालनमा आएसँगै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क समेटिएको जानकारी दिनुभयो । विभागले २०७५ देखि नै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । पछिल्लो वर्षदेखि फेमिस सञ्चालनपछि मात्रै व्यवस्थित रूपमा तथ्याङ्क राख्ने गरिएको हो ।
यो अवधिमा सबैभन्दा धेरै मधेश प्रदेशमा एक लाख ६५ हजार ९ सय २५ जना फर्किएका छन् भने प्रदेश १ मा एक लाख ४८ हजार २ सय ४१ जना फर्किएको आप्रवासन प्रतिवेदनमा उल्लेख छ । यसैगरी सोही अवधिमा लुम्बिनी प्रदेशका एक लाख १८ हजार ६ सय ६६ जना, गण्डकी प्रदेशका एक लाख आठ हजार ७ सय ७५ जना र बागमती प्रदेशका ९९ हजार १ सय ६९ जना स्वदेश फर्किएका छन् ।
कर्णाली र सदूरपश्चिम प्रदेशमा सबभन्दा कम फर्किएका छन् । कर्णाली प्रदेशका १७ हजार ३ सय ९८ जना र सुदूरपश्चिम प्रदेशका १६ हजार ७ सय ३९ जना स्वदेश फर्किएको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवधिमा सात प्रदेशका ४३ हजार ६६ महिला श्रमिक स्वदेश फर्किएका छन् । प्रतिवेदनले स्वदेश फर्किने महिला श्रमिकमा सबैभन्दा बढी बागमती प्रदेशका १८ हजार ३ सय ६ जना जनाएको छ ।
यस्तै प्रदेश १ का १३ हजार २ सय ४ जना महिला श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् भने मधेश प्रदेशका एक हजार ९ सय ७६ जना, कर्णाली प्रदेशका ५ सय ७६ जना र सुदूरपश्चिम प्रदेशका ४ सय ९५ जना महिला श्रमिक स्वदेश फर्किएका छन् ।
श्रम आप्रवासन प्रतिवेदन २०२२ ले पहिलो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा धेरै मधेश प्रदेशबाट रहेको देखाएको छ । आ।व। २०७८–७९ मा मात्रै मधेश प्रदेशबाट खाडीलगायत विभिन्न देशमा छ लाख ३० हजार रोजगारीका लागि गएका छन् भने आव २०७७–७८ मा एक लाख ६६ हजार जना वैदेशिक रोजगारीका लागि गएका थिए ।
सबैभन्दा धेरै साउदीमा ३७ हजार ८ सय २२, कतारमा ३६ हजार ३ सय ५८, मलेसियामा आठ हजार ३ सय ५६, कुवेतमा पाँच हजार १३ र बहराइनमा एक हजार ७ सय ८८ जना गएका छन् । यीबाहेक ओमान, रोमानिया, क्रोएसिया, माल्दिभ्सलगायतका देशमा जानका लागि पनि श्रम स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मधेश प्रदेशपछि प्रदेश नम्बर १ बाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा छ । गएको आर्थिक वर्षमा प्रदेश १ बाट ७० हजार ६ सय २३ जनाले, बागमती प्रदेशबाट ५४ हजार १७ जनाले, गण्डकीबाट ४२ हजार ५ सय ३६ जनाले, लुम्बिनी प्रदेशबाट ५८ हजार ६ सय ८३ जनाले, कर्णाली प्रदेशबाट १३ हजार ४ सय २६ जनाले र सुदूरपश्चिम प्रदेशबाट नौ हजार ५ सय १६ जनाले वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् । गोरखापत्रमा समाचार छ ।