हेटौँडा, २२ पुस । स्वास्थ्य व्यवसायी संघले सरकारी कर्मचारी र व्यवसायीकै सेटिङमा हरेक वर्ष ३० अर्ब रुपैयाँ भ्रष्टाचार हुने र आमजनताले महँगोमा गुणस्तरहीन औषधि सेवन गरिरहनु पर्ने बाध्यता रहेको जनाएको छ ।

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले २४ वर्षयता देखिएको स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न आफूहरु तयार भएको र सरकारका तीनै अंग फेल भएकाले चौथो अंग गुहानु परेको बताएको छ ।

संघका अध्यक्ष नवराज बस्नेतले भन्नुभयो, ‘हामी स्वास्थ्य क्षेत्रमा संस्थागत भइरहेको भ्रष्टाचार अन्त्यका लागि क्रियाशील छौँ, अख्तियार भेट्यौँ, राजनीतिक दलहरु भेट्यौँ, लेखा समितिमा पनि औषधिमा भएको भ्रष्टाचारको मुद्दा १ नम्बरमा छलफलको विषयमा रहेको छ ।’

‘वर्षमा ३० अर्ब रुपैयाँ भ्रष्टाचार भइरहेको छ, तपाईंहरु खोजी नै गर्न चाहनु हुन्छ र औषधि क्षेत्रमा भ्रष्टाचारीलाई नंग्याउन चाहनु हुन्छ भने हामी नामै पनि दिन तयार छौँ,’ बस्नेतले थप्नु भयो, ‘२ लाख रुपैयाँ पर्ने सामान २ करोड रुपैयाँसम्ममा बिक्री भइरहेको छ, नेपालको स्वास्थ्यक्षेत्र महँगो बनाउने काम भएको छ, अब पनि सहेर बस्ने हो भने यो झन झांगिने छ ।’

कार्यक्रममा संघका महासचिव विज्ञान अर्यालले संघको २४ बुँदे माग पढेर सुनाउनु भएको थियो ।
हेर्नुहोस् भिडियोः