हेटौँडा, १७ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी वाम एकताका पक्षमा भए पनि कसैसँग छलफल नभएको बताउनु भएको छ ।

दुईदिनसम्म चलेको स्थायी कमिटी बैठकपछि नेता खनालले भन्नुभयो, ‘एकताका पक्षधर हौँ, छलफल चल्न बाँकी छ ।’ नेता खनालले वर्तमान सरकार वाम नेतृत्वको भए पनि सरकारको खुट्टा पुनरुत्थानवादी देखिएको र समर्थन र सहयोग नमागेकाले पार्टीमा छलफल नभएको बताउनु भयो ।

पार्टी प्रवक्ता उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी एकता र सरकारलाई समर्थनबारे आधिकारिक छलफल नभएको बताउनु भएको छ । एउटा प्रसंगमा उहाँले भन्नुभयो, ‘महेश बस्नेतजी आफ्ना पुराना नेताकहाँ चिया पिउन आउनुलाई पार्टी एकता भनेर हल्ला चल्दैमा स्थायी कमिटीको एजेण्डा बन्दैन ।’

पार्टीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको छ । पार्टी निर्माण र सुदृढिकरणमै स्थायी कमिटी सदस्यहरु एकमत देखिएका छन् ।