दीपकबहादुर सिंंह, सांसद, मकवानपुर १

मकवानपुरमा २८ वर्षपछि राप्रपाको ‘कमब्याक’ भएको छ। पटक–पटक चुनाव हारेर आफ्नो पार्टीको थोरै जनमतमा उभिएका दीपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा १ बाट निर्वाचित भएका छन् । सिंहले पाँचौं पटकको प्रयासमा पाँच दलीय सत्ता गठबन्धन र एमाले राप्रपा नेपालको गठबन्धन तोडेर संसद्को यात्रा तय गरेका हुन् । २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाका तत्कालीन उम्मेदवार कमल थापा विजयी भएयता राप्रपाले मकवानपुरमा आफ्नो झण्डा फहराउन पाएको थिएन । सिंहसँग अन्नपूर्ण पोस्ट्का कृष्ण सारु मगरले गरेको कुराकानीः

१२ वर्षमा खोला फर्कन्छ भन्छन्, २८ वर्षपछि मकवानपुरमा राप्रपाको सत्ताा फर्कियो, कस्तो अनुभूति भइरहेको छ ?

जनताले जुन परिवर्तन चाहेको थियो। विकल्पको रूपमा मकवानपुरमा राप्रपालाई चुनेको मैले पाएको छु। यहाँ कसैको दश वर्ष, कसैको १५ वर्ष, कसैलाई दुई चोटी जनताले हेर्ने मौका पाए। तर, चुनावका बेला उहाँहरू भोट माग्न उपस्थित हुन्थ्यो। त्यो पनि केही ठाउँ मात्र। चुनाव सकिएपछि कोही पनि जनताको नजरमा परेनन्। त्यही कारणले विकल्पका रूपमा अहिले यो मौका हामीले पाएका हौं।

पाईंको जीवनमा निर्वाचन जितेको पहिलो अनुभव हो यो। सधैं हाँरिरहने मान्छे, यसपटक चाहिँ कसरी जादु चल्यो र सानदार जित भयो ?

म पाँच महिनाअघि मात्र मेयरमा उठेको थिएँ। कारणबस बिनाकुनै तयारी म उठ्नुपर्‍यो। जम्मा ११ दिनको समयमा आधा जनताको घरमा पनि मुख देखाउन जान पाइनँ। संगठन हाम्रो कमजोर थियो। तैपनि जनताको घरदैलोमा ११ दिन जाँदा पनि मैले करिब २० हजार ५ सय मत पाएँ। यसबाट यो बुझ्न सकिन्छ कि अहिले चारवटा वडा हाम्रो २ नम्बर संघमा पर्ने भएको थियो। त्यसमा पनि दुई वटामा मैले गठबन्धनहरू र एमालेलाई हराकै थिएँ। मकवानपुरमा कमजोर रहेको संगठन बलियो बनाउन मैले ५ महिना मिहेनत गरें। घर–घरमा, वडा–वडामा हरेक ठाउँमा म पुगें। १ नम्बर संघमा मात्र हैन २ नम्बरमा पनि पुगे। सबैबाट आश्वासन पाएँ। यसपटक सहयोग गर्छौं भनेर पार्टी अध्यक्ष राजेन्द्र लिंदेनले भनिसकेपछि कम्मर कसेँ।

गठबन्धनबाट कांग्रेस सहमहामन्त्री डिना उठ्नुभएको थियो। जनतामा उहाँप्रति धेरै गुनासो भएको पाएँ। त्यसमाथि उहाँ प्रधानन्यायाधीश काण्डमा उहाँ मुछिनुभयो। यी सब कुराले गर्दा कांग्रेसभित्र पनि ठूलो असन्तुष्टि थियो। त्यस्तै, एमालेबाट पनि ढुक्क भएर रामेश्वर रानाले टिकट पएको थियो। सोझो इमान्दार नेता मैले उहाँलाई पाएको थियो। रानाको टिकट खोसेर रातारात राप्रपा नेपालका अध्यक्ष कमल थापा आउनुभयो। मनोनयन दर्ताको दिन एमाले पार्टी कार्यालयमा ताला लाग्यो। मनोनय दर्ता गर्न पनि सुटुक्क एक्लै जानुपर्ने स्थिति बन्यो। उहाँहरू पटक–पटक हेरिसकेको र जनताको जीवनस्तर राम्रो हुने काम केही नगरेको देखियो। त्यसैले यो जित हुनुको कारण मैले जनतासामु स्पष्ट कुरा राखेकै कारण हो जस्तो लाग्छ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा हारेको ६ महिनामै संसद्को चुनाव लड्नुभयो। तपाईं राम्रो पारिवारिक पृष्टभूमिको मान्छे। अलि बढी खर्च गर्नुभयो भन्ने पनि चर्चा छ नि ?

म सामान्य मान्छे नै हो। मेरो परिवारलाई पुग्ने व्यवसाय र आम्दानी छ। मेरो जिम्मेवारी छोराले लिएपछि मैलो अब देश र जनताको लागि समय दिनुपर्छ भन्ने लाग्यो। आराम गरी बस्नु मेरो धर्म र कर्म दुवै होइन। त्यसैले यो माटोमा जन्मेपछि माटोको ऋण तिर्नुपर्छ भनेर आत्माबाटै लागेपछि यसमा लागेको हुँ। देशमा भ्रष्टाचारलगायत राष्ट्रलाई दोहन गर्ने काम भइरहेका छन्। त्यो रोक्नका लागि पनि उठ्नुपर्छ भनेर म राजनीतिमा फेरि लागेको हुँ।

जनताको बीचमा चुनावअघि थुप्रै वाचा गर्नुभएको छ। तपाईंमाथि मकवानपुरको ठूलो अपेक्षा पनि छ। चुनाव जितेर चुनौतीको पहाड चढेजस्तो लाग्दैन ? अब कसरी अघि बढ्नुहुन्छ ?

मकवानपुरका जनताहरू वर्षौदेखि घरबार बनाएर बसिरहेका छन्। लालपूर्जा पाएका छैनन्। लालपुर्जाको एजेन्डा बनाएर जितेका सांसद जितेको भोलिपल्टदेखि यी सबै मुद्दा बिर्सिए। झुटो आश्वासन बाँड्नेबाहेक काम भएको छैन। त्यसैले यो मौका मलाई दिनुभयो भने सबैभन्दा पहिले जनताको हातमा लालपूर्जाको व्यवस्था गर्छु भनेको छु। लालपुर्जा नभएर उहाँहरूले ‘कृषि लोन’ पाउँदैनन्। अनुदान पाउँदैनन्। मकवानपुरमा आफ्नो मान्छेका नाममा शेयर होल्डर बनाएर माछा पालनदेखि धेरै काम भएको छ। करोडौं अनुदान लुटिरहेका छन्। म त्यो हुन दिन्नँ।

आफ्नै पूर्वसहकर्मी राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई हराएर तपाईंले चर्चा पनि कमाउनुभएको छ। तपाईंको अबको प्राथमिकता के–के कुरामा हुन्छ ?

म पहिलोपटक संसद् जाँदैछु। अरू जस्तो अनुभवी म पक्कै पनि छैन। तर, मलाई यति थाहा छ कि राष्ट्र र जनहितका लागि कुनै गलत काम म गर्दिनँ। भ्रष्टाचार हुन दिन्नँ। मन्त्री बन्ने आकांक्षा पनि छैन। संसद्मा राष्ट्र र जनताका कुरा इमानदारिताका साथ उठाउँछु। अहिले सरकारमा जानकै लागि मात्र गठबन्धन भइरहेको छ। तर, मेरो जनताको मन र मुटुसँग पवित्र गठबन्धन छ। त्यसैले मेरो एउटै उद्देश्य भनेको मकवानपुरको जनताको जीवनस्तर राम्रो बनाउने हो।

जबसम्म नयाँ–नयाँ कलकारखाना सञ्चालन गर्न सक्दैनौं तबसम्म जीवनस्तर उकास्न गाह्रो छ। बन्द भएका हेटौंडा कपडा उद्योग ३ सिफ्टमा चल्थ्यो। १५/१६ सय मान्छेले रोजगारी पाउने त्यो उद्योग बन्द छ। बाटोघाटोलगायत पूर्वाधार बनिसकेपछि नयाँ नयाँ उद्योग लैजाने सोच छ। त्यहाँका सोझा जनताको घरपरिवार नजिकै रोजगारी दिनसक्छु भन्ने आँट ममा छ।

२०७४ मा एक सिट जितेको राप्रपाले यसपटक सात सिट जितेको छ। तर, तपाईंहरूले बोकेको संवैधानिक राजतन्त्रको एजेण्डा पुनस्र्थापनाको सपना पूरा गर्न अझै धेरै जनमतको आवश्यकता छ। यो मिठो सपना जस्तोमात्र लाग्दैन तपाईंलाई ?

गणतन्त्र आएपछि यी नेताहरूले यत्रो वर्ष काम गर्ने अवसर पाए। तर, केही गर्न सकेनन्। दुई तिहाइ पाएको बेला ओली सरकारले पनि केही गर्न सकेन। आफ्नै पार्टी फुटाए। एकअर्कालाई यति खायो उति खायो भनेर आरोप लगाइराखेका छन्। अहिले एमसीसी, एसपीपी जस्ता सन्धी–सम्झौता गरिराखेका छन्। अरू केके गरिसके भोलि त्यो ठाउँमा हामी पुग्यो भने मात्र थाहा पाउँछौं। अहिले पनि गोप्य सन्धी–सम्झौता धेरै भइरहेको छ।

नागरिकता विधेयक जस्ता चिजहरूमा ७० जनाले हात उठाएको भरमा कसैले एक शब्द विरोध गरेनन्। बरु यी सांसद माधव नेपालको पार्टीमा गए भनेर कति दिन संसद् अवरुद्ध गरे। तर, देशलाई घाटा हुने सन्धी–सम्झौतामा चाहिँ किन उहाँहरू संसद्लाई एक मिनेट पनि बन्द गर्न सक्नुभएन।

साच्चै भन्ने हो भने बीपी कोइरालासँग राजा हुँदैन भने नेपाल रहँदैन भन्ने विचार थियो। त्यो विचार समाप्त भयो। कांग्रेसले आज त्यो सबै विचार बेचिसक्यो। चाहे, त्यो आरएनएसीको जाहाज काण्ड होस्, चाहे महाकाली सन्धी होस्, चाहे त्यो एमसीसीकै कुरा होस्। अहिले युवा जति खाडी मुलुकुमा जान बाध्य छन् । बाकसमा फर्किनु परेको छ। त्यसैले हामीसँग भएको बीपीको मार्ग आमकांग्रेसले छाडेको छ। हामीले यही मार्ग पछ्याइरहेका छौं।

प्रदेशको संरचना र संघीयताको खारेजी र धर्म निरपेक्षताको विरुद्धमा तपाईंहरू हुनुहुन्छ। तपाईंहरू अघि बढ्नुपर्ने बेला किन पश्चगमनमा फर्कन चाहानुहुन्छ ?

हामीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ भनेका छौं। १८ जना त हेटौंडामा मन्त्री छन्। तीन वर्षको बीचमा ६ सय जनामा चानचुन ३ सय जना मन्त्री भइसके। कार्यकर्ता भर्ती केन्द्रको झण्डै १२/१३ प्रशित त राष्ट्रको बजेट प्रदेश सरकार चलाउन लागेको छ।

सोच्ने हो भने २ खर्ब बढी त सरकार थेग्न र कार्यकर्ता मोटाउन खर्च भइरहेको छ। पहिलो चुनाव हारेपछि पाँच वर्ष केही गर्न पाइन्थ्यो। जनताले दुई ठाउँबाट हराएको माधव नेपाललाई माननीय बनाएर प्रधानमन्त्रीसमेत बनेका छन्।

अहिले वामदेव र नारायणकाजी मसँगै उठ्दा हारेको मान्छे सांसद भएर के के फाइदा लिइसके यो गलत प्रवृत्तिा हो। त्यसैले संघीयता खारेज गर्नुपर्छ। प्रदेशको अधिकार स्थानीय तहलाई दिनुपर्छ। कृषि क्षेत्रमा मल, बीउ बिजन र के–के दिन सक्छ निःशुल्क गर्नुपर्छ र बाँकी पैसा बन्द भएका उद्योग सञ्चालन गर्न र नयाँ–नयाँ उद्योगलाई अफर गरेर बहुराष्ट्रिय कम्पनीहरू ल्याएर काम सुरु गर्नुपर्छ। वर्षमा ३ पटक प्रधानमन्त्री फेरिने भइसकेको छ। तर, सरकारको नीति केही छैन। एउटा सरकारको निर्णय अर्कोले गर्नेबाहेक अरू केही काम भएको छैन। त्यसैले राजालाई संवैधानिक बनाएर अभिभावकका रूपमा राख्नुपर्छ। त्यसैमा हाम्रो भलो छ।

नयाँ दल र स्वतन्त्र उम्मेदवारको यो चुनावमा लहड देखियो। तपाईं पनि सामान्य जनमत भएको पार्टीको मान्छे त्यही लहडमा पर्नुभयो। यसले पुराना दलहरूलाई कत्तिाको चुनौती भएको छ ?

चुनौती देखियो नि १ म सामान्य जनमत भएको पार्टीको मान्छे। सूर्य र रूखको बीचमा जुन द्वन्द्व चल्यो, खाइपिइ गरेको दुइटैलाई थाहा छ। उहाँहरूले यसअघि राम्रो नगर्दा मलाई विकल्पका रूपमा जनताले जिताए।

(अन्नपूर्ण पोष्ट डटकमबाट साभार)