हेटौँडा, ८ मंसिर । ३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा मेयरमा दीपकबहादुर सिंह उठ्ने कुनै चाँजोपाँजो थिएन । तर उम्मेदवारी मनोनयनको दिन एकाएक सिंहको हेटौँडा आगमन र उम्मेदवारी दर्ताले अर्कै तरंग ल्याइदियो । मत परिणाममा तेस्रो भए पनि सिंहले २० हजार ५ सय ३१ मत ल्याएर सबैलाई चकित पारिदिए ।

दीपक सिंह आए, हामीलाई चुनाव जित्न सहज हुन्छ भन्ने एमाले दोस्रो भयो । दीपक सिंह नआएको भए गठबन्धन हेटौँडाकै चुनावमा हार्न सक्थ्यो र एमाले जित्न सक्थ्यो । पहिला सिंहलाई स्वागत गरेर एमाले मख्ख परेको थियो भने पछि चुनाव जितेपछि सिंह आउनाले एमाले उत्तानो परेको भनेर गठबन्धनले धन्यवाद् दियो ।

यसपटक भने एकातिर एमाले र राप्रपाको गठबन्धनमा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा उम्मेदवार । अर्कातिर गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय उम्मेदवार । दुई वटा गठबन्धन ढालेर राप्रपाका दीपकबहादुर सिंह विजयी भए त्यो पनि मतपरिणाम आउने दिन बिहान केही घण्टाको अग्रताले । मतगणनाको आरम्भदेखि नै तेस्रो स्थानमा रहेको सिंह चुनाव जित्नेमा आसाबादी थिए ।

हेटौँडामा नगरमा स्थानीय तहमा आएको मतसँगै यो समयमा गरिएको मेहेनतले अरु मत थपेर दुईवटै गठबन्धन पछारिनेमा सिंहको आत्मविश्वास नभन्दै कामयाव भयो । आफ्ना राजनीतिक गुरु कमल थापालाई तेस्रो बनाउँदै सिंह गठबन्धन उम्मेदवार उपाध्यायभन्दा २ हजार ३ सय ९३ मत बढी ल्याएर विजयी भए ।

सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय ३४ मत ल्याइन् भने १० हजार मत गन्न बाँकी हुँदै एमालेका कमल थापाले हारको आत्मसमर्पण गर्दै २५ हजार ४ सय २० मतमा सीमित पारे । हेटौंडाको ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा जम्मा १८ मतले अघि बढेका सिंहमा विजयी हुने आत्मविश्वास थियो भने कमल थापामा हारको स्वीकार ।

कुनै प्रत्यक्ष निर्वाचन नजितेका सिंहको आगमनमा हेटौँडामा राप्रपाजनसँगै कांग्रेसीजन पनि खुशी थिए । सामाजिक सञ्जालमा कांग्रेसीजनहरुको आक्रोश, आरोपको बाढी लागिरहँदा एमालेजनहरुले पनि सिंहलाई बधाई दिएका थिए । कम्युनिष्टबाट कांग्रेसको हातमा सत्ता पुगिरहँदा सिंह राप्रपालाई मकवानपुरमा जिताउने यस्ता नेता हुन्, जसले २८ वर्षपछि फेरि कमल थापापछि राप्रपाको जित दर्ज गराएका छन्, कमल थापा र अर्का सहकर्मी मधु अधिकारीको अनुपश्थितिमा । सिंह जिताउन दुईपटक त राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन मकवानपुर आए । उनको एउटै आग्रह थियो, एकपटक, यसपटक दीपक सिंहलाई संसदमा पठाइदिनुहोस् । त्यो माग केही एमाले, केही माओवादी र केही कांग्रेसीजनले मनासिव ठाने र सिंहलाई साथ दिए ।

२०५४ सालमा पहिलोपटक मेयरमा राप्रपाबाट चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १ हजार २ सय मतान्तरमा पराजित भए । २०५६ मा विरोध खतिवडासँग प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए ।

स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका मीना लामासँग पराजित भए । पाँचौपटकमा सिंह संसदमा प्रवेश गरिरहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिग्रेट थियो, ‘मैले स्थानीय तहको निर्वाचनमा दीपक सिंहलाई सघाएको भए उनी मेयर हुन्थे र अहिले संसदको यात्रा रोकिने थिएन ।’

उता, उनै सिंहले कमल थापालाई पनि तेस्रो पारेर संसदमा छिरेपछि भनिरहेका छन्, ‘मकवानपुरमा कमल थापाले रोकेर राखेको राष्ट्रवादी शक्ति अर्थात बाघ सवारी शुरु भएको छ ।’ थाहा छैन, यो सवारीले कयौँ असन्तुष्ट कांग्रेस, एमाले, राप्रपा नेपालका युवा पंक्तिलाई सिंहको बाघसवारीमा ‘डमरु’ बनाएर मकवानपुरमा राप्रपा ठूलो पार्टी बन्न पनि सक्छ । किनभने कमल थापाको जिल्ला भएकाले मकवानपुरको राप्रपा निर्माण राजेन्द्र लिंगदेनहरुको पनि प्राथमिकताको विषय बनेको छ ।