हेटौंडा, ८ मंसिर । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । उपमहानगरपालिकाको विहीबार बसेको स्थानीय भूउपयोग परिषद्को बैठकले जग्गावर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।

स्थानीय भूउपयोग परिषद्को असोज ३० गतेको बैठकबाट जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश भएको थियो । प्रतिवेदन स्वीकृतसँगै विवरण नापीविभाग, प्रदेश भूउपयोग परिषद् र संघीय भूउपयोग परिषद्मा पठाइने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविनन्यौपानेले जानकारी दिनु भयो । जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन कानूनबमोजिम स्थानीय पत्रपत्रिका र पालिकाको वेभसाइटमा समेत राखिने उहाँले जानकारी दिनु भयो ।

नयाँ वर्गीकरणअनुसार अब उपमहानगरको वडाहरुको भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकतासमेतको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रमा वर्गीकरण हुने प्रवक्ता न्यौपानेले बताउनु भयो ।

भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धमा स्थानीय भूउपयोग परिषद्को २०७९ असार ४ गते बसेको बैठकबाट हेटौंडा उपमहानगरपालिका सीमा क्षेत्रभित्रको भूउपयोग क्षेत्र वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । निर्णय बमोजिम गत असार २० गतेको नगरप्रमुख स्तरको निर्णयबाट जग्गा वर्गीकरणको कार्यलाई सहजीकरण गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।