आशिष बहादुर सिंह
बझाङ, ८ मंसिर ।
वाम लोकतान्त्रिक गठबन्धनबाट बझाङमा संघमा भानुभक्त जोशी विजयी हुनु भएको छ । जोशीले नेकपा एमालेका ऐन महरलाई ९ सय ९८ मतले पछि पार्दै जित हात पार्नु भएको हो ।

जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्नु भएको छ भने महरले २७ हजार १ सय ४५ मत प्राप्त गर्नु भएको छ । मंगलबार साँझबाट सुरु भएको मतगणनामा बुधबार राति १२ बजे प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको थियो ।जोशी यसअघि एकपटक प्रतिनिधिसभा सदस्य, एकपटक संविधान सभा सदस्य र एकपटक वनमन्त्री भइसक्नु भएको छ । नेकपा एमालेबाट गत वर्ष मात्रै पार्टी परिवर्तन गरेका जोशी नेकपा एसका स्थायी समिति सदस्य हुनुहुन्छ ।

यस्तै, बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित हुनु भएको छ । उहाँले एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतको अन्तरले पराजित गर्नु भएको हो । सिंहले १७ हजार १ सय १२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनु भएको छ । सिंह नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हुनुहुन्छ ।

बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भीम भन्डारी निर्वाचित हुनु भएको छ । उहाँले एमालेका एल बि रावललाई २ हजार ५ सय ४२ मतको अन्तरले पराजित गर्नु भएको हो ।