हेटौँडा, २ मंसिर । मकवानपुरको बागमती गाउँपालिका–४ थलीका रामबहादुर पहरी उमेरले ६९ वर्षका भए । पञ्चायत, बहुदल हुँदै ०६२(६३ को जनआन्दोलनपछिका सबै निर्वाचनमा उनले मतदान गरेका छन् । हरेक निर्वाचनअघि लालपुर्जा दिलाउने आश्वासन पनि पाए तर अहिलेसम्म पहरी परिवार बस्दै आएको छाप्रो र जमिनको पुर्जा उनको हातमा परेको छैन ।
रामबहादुरका बाबु सूर्यबहादुर झन्डै ७० वर्षअघि ललितपुरको बडिखेलबाट बसाइँ सरेर थली आएका थिए । थलीमा जंगल फाँडेर बस्ती बसाउन सूर्यबहादुरसँगै अन्य ४ जना पनि झरेका थिए । उनीहरू सबैको मृत्यु भइसके पनि थलीमा पहरी समुदायको बसोबास फैलँदो छ । यहाँ पहरीका ३५ घरधुरी बस्छन् । तर, कसैको पनि जमिनको लालपुर्जा छैन । हरेक निर्वाचनजस्तै यसपल्ट पनि मकवानपुर–१ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार मत माग्दै पहरी बस्ती पुगिसकेका छन् । यसअघिजस्तै पहरी समुदायले पनि उनीहरूसँग उही साझा माग अघि सारे, लालपुर्जा पाऊँ ।
उम्मेदवारबाट पुर्जा दिलाउन सक्दो प्रयत्न गर्ने आश्वासन पाए पनि स्थानीयलाई त्यसमा विश्वास लागेको छैन । ‘लालपुर्जा दिलाउँछौं भन्नेलाई धेरै पटक भोट हालेर जितायौं तर अहिलेसम्म हातमा लालपुर्जा परेको छैन,’ ७१ वर्षीया ज्ञानीमाया पहरीले भनिन्, ‘यसपल्ट पनि भोट एक जनालाई दिन परिगो तर काम होला भन्ने विश्वास छैन ।’
घर वरिपरि रहेको बारीमा मकै छर्ने तयारीमा रहेका रामबहादुरले ‘राज्यबाट केही पाएकै छैन, अनि के आसमा भोट दिने रु’ भन्दै प्रतिप्रश्न गरे । ‘सानैदेखि बाबुलाई साथ दिँदै जंगल फाँडेर बसियो, बाबु बिते, आफू पनि बित्ने बेला भइसक्यो तर घरजग्गाको पुर्जा पाउन सकिएन,’ मलिन अनुहार लगाउँदै उनले भने, ‘मर्नुभन्दा अघि कम्तीमा छोरानातिलाई पुर्जा जिम्मा लगाउन पाए हुन्थ्यो ।’ थलीका मात्र होइन, मकवानपुरमा रहेका अधिकांश पहरी समुदाय लालपुर्जाविहीन छन्, उनीहरू अन्य आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । बागमती गाउँपालिकाको प्रशासनिक भवन रहेको झुरझुरेबाट २५ मिनेट हिँडेर पुगिन्छ थली । यहाँ खानेपानीको हाहाकार छ । बर्खामा खोल्साको पानी ट्यांकीमा संकलन गरेर पाइपमार्फत गाउँमा ल्याउने गरिएको छ । हिउँमा खोल्सी सुक्ने भएकाले स्थानीय बागमती किनारमा कुवा बनाएर गाग्री, बोतलमा पानी भरेर ल्याउँछन् । यहाँबाट बागमती किनारसम्म पुग्नै हिँडेर ४५ मिनेट लाग्छ ।
चेतनाको अभाव र गरिबीका कारण बस्तीका अधिकांशका घरमा चर्पी छैन । चर्पी भएका घरमा पनि पानी नहुँदा प्रयोगविहीन छन् । ‘समस्याका चाङ छन् । तर, अहिलेसम्म कसैले हाम्रा दुःख देखेनन्,’ ४० वर्षीया सुन्तली पहरीले भनिन्, ‘चुनावका बेलामा आउँछन्, भोट माग्छन्, हुन्छ भन्छन् जान्छन् तर फर्केर कोही आउँदैनन् ।’ यहाँबाट नजिकको विद्यालय पुग्नै २५ मिनेट हिँड्नुपर्छ । जसका कारण पहरी बालबालिका नियमित विद्यालय जाँदैनन् । ‘सबैको आर्थिक अवस्था कमजोर छ । त्यसकारण पढाउनभन्दा पनि आफ्ना बालबच्चालाई सानैदेखि माछा मार्न सिकाउँछन्,’ स्थानीय शंकर पहरीले भने, ‘माछा मार्न सिके बरु केही आम्दानी होला भनेर स्कुल जानेहरू पनि बीचैमा छोडिदिन्छन् ।’ माछा मार्नु पहरी समुदायको परम्परागत पेसा हो ।
नयाँ पुस्तामा पनि माध्यमिक तहसम्म पढ्ने र त्यसपछि छोड्ने प्रवृत्ति रहेको पहरी समुदायका जानकार जनक पहरीले बताए । ‘एकातिर गतिलो अवसर नपाउने र अन्य जातिसँग प्रतिस्पर्धा गर्न नसक्ने । अर्कोतिर पढ्नुपर्छ भन्ने चेतनाको पनि अभाव छ,’ उनले भने । बागमती गाउँपालिकाका थलीसहित भैंसे, पैरे, भुर्कुसटा, संकटारलगायत ठाउँमा पनि पहरी समुदायको बसोबास छ । थलीका जस्तै सबै पहरी बस्तीको नियति एकै छ । गाउँपालिकाका भूमिहीनहरूलाई यसअघिका जनप्रतिनिधिले जग्गाधनी पुर्जा वितरण गर्ने कार्य सुरु गरेका थिए । तर, पहरी समुदायकाले पाएका थिएनन् । ‘अहिले नयाँ व्यक्ति प्रतिनिधिका रूपमा आएका छन् । हेरौं उनीहरूले के गर्छन्,’ स्थानीय खड्गबहादुर पुलामीले भने ।
आर्थिक, सामाजिक र राजनीतिक रूपले अत्यन्त पछाडि परेको यो समुदायभित्रको अर्को जटिल समस्या हो बालविवाह । १४–१६ वर्षको बीचमा विवाह गर्ने प्रचलन नै छ । ‘१६ वर्षभित्रमा बिहे गरिसक्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिको चलन नै हो,’ जनकले भने, ‘कानुनी रूपमा २० वर्ष पुगेपछि मात्र बिहे गर्नुपर्छ भन्ने अझै धेरैलाई थाहा नै छैन ।’ पहरीको आफ्नै भाषा र लिपि छ तर लोप हुने अवस्थामा पुगिसकेको छ । यहाँका ९० प्रतिशतभन्दा बढी पहरीले आफ्नो भाषा बोल्दैनन् र बुझ्दैनन् पनि । परम्परागत सीपकै रूपमा धेरै जना अझै बेत र बाँसका डोका, डाला, नाङ्ला, दाम्ला, नाम्ला, छपी बुनेर बिक्री गर्छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार त्यहाँ १ हजार १ सय ८७ जना पहरीको बसोबास छ । सबै हिसाबले पछि परे पनि पहरी समुदायको उत्थानमा राज्यले ध्यान दिन नसकेको पहरी विकास संघका केन्द्रीय अध्यक्ष मुकुन्द पहरीले गुनासो गरे । ‘हामीलाई राज्यले त छायामा राखेको छ नै, हरेक निर्वाचनमा दल र उम्मेदवारहरूले पनि भोट बैंककै रूपमा प्रयोग गर्दै आएका छन्,’ उनले भने । कान्तिपुर दैनिकबाट साभार ।