हेटौँडा, २ मंसिर । हावा र पानी सहजै भित्र छिर्ने सानो झुपडी। निहुरिएर हिँड्नुपर्ने साँघुरो झुपडीभित्र दुई छोराछोरीसहित बिन्दुमाया चेपाङ साँझको छाक कसरी टार्ने भन्ने चिन्तामा छिन्।

चुल्हो बाल्न मजदुरी गर्न गएका बुवा राजकुमार चेपाङको प्रतीक्षामा डेढ वर्षीय छोरा सोमलाल र पाँच वर्षीया छोरी अनिताको आँखा रसाइरहेको छ। तर, भोकाएका छोराछोरीको पेट भर्ने बिन्दुमायासँग कुनै उपाय छैन। मकवानपुरको पश्चिम कैलाश गाउँपालिका २ घरेडी गाउँमा उनी तेस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन्। उमेरले खर्भरै २४ टेकेकी बिन्दुमाया झट्ट हेर्दा ४० कटेकी जस्तै देखिन्छन्।

जंगल छेउ एकान्तको बसाइँ र कठोर जीवन संघर्ष भोगिरहेकी बिन्दुमायाले घरेडी गाउँभन्दा बाहिरको संसार देखेकी छैनन्। उनले मुस्किलले यो वर्षात् कटाइन्। ठूलो पानी पर्दा घरभित्र सहजै पानी छिर्ने गरेको छ। ‘पानी पर्दा घरभित्रै पानी छिर्छ, ठूलो पानी पर्दा प्लास्टिक ओडेर बस्छौं,’ उनले भनिन्, ‘राम्रो घर नहुँदा बालबच्चा जोगाउनै गाह्रो भयो।’

जाडो महिना बढ्दै जाँदा उनलाई बिहान बेलुकीको छाक टार्नेसँगै रात कसरी कटाउने भन्ने चिन्ताले सताएको छ। वर्षौं पुरानो कपडाले चारैतिर खुला रहेको झुपडीमा चल्ने चिसो सिरेटो थेक्दैन। यही चिसोले तीन वर्ष अघि उनको एक सन्तान खोसेर लग्यो। राम्ररी नेपाली भाषा नबुझ्ने बिन्दुमायाले भनिन्, ‘चिसो बढेपछि राती सुत्न सकिँदैन, आगो तापेर रात कटाउँछौं।’ छोराछोरीका लागि पनि उनले तीन वर्षयता नयाँ कपडा किनिदिन सकेकी छैनन्। गाउँलेका छोराछोरीले लगाएर दिएका पुराना कपडाहरूले छोरा छोरीको आत ढाकिदिने गरेकी छन्। मंगलबार अन्नपूर्णकर्मी उनको घर पुग्दा चिसो छल्न घाम तापिरहेकी थिइन्।

एलानी जमिनमा बसोबास गर्दै आएका उनको परिवारले करिब पाँच रोपनी पाखोबारीमा कोदो रोपेको छ। तर, बाँदरबाट जोगाउन मुस्किल छ। आफू सुत्केरी हुँदा खानका लागि भनेर उनले करिब डेढ सय घोगा मकै बचाएर राखेकी छिन्। ‘अन्न सकिसक्यो, मकै, कोदो रोपे पनि बाँदरले खाएर सकाइदिन्छ,’ उनले दुखेसो पोखिन्, ‘तीन महिना जति बारीको कोदो मकैले पुग्छ अरू समय मजदुरी गरेर खाने हो।’

श्रीमान्ले कमाएर नल्याएको दिन परिवार भोकै हुने गरेको छ। श्रीमान्ले ज्याला मजदुरी गरेर कमाएको पैसा पनि बाटैमा जाँडरक्सी खाएर सकाउँदा उनलाई असैह्य पीडा हुन्छ। उनी आफैं बालबच्चा छिमेकमा छाडेर कहिलेकाहीँ मजदुरी गर्न जान्छिन्। ‘घर पनि छैन, खानेकुरा पनि छैन’, उनले दुखेसो पोखिन्, ‘यस्तै बानी परिसक्यो, हुँदा खाने, नभए के गर्नु।’ राजकुमारको उनी कान्छी श्रीमाती हुन्। जेठी श्रीमतीबाट उनकी दुई छोरी छन्।

छरछिमेकको जस्तै घामपानी र चिसोबाट बच्ने घर बनाउने बिन्दुमायाको सपना छ। तर, उनको मीठो सपना पूरा हुन सकेको छैन। ‘श्रीमान्को कमाइले खान पनि मुस्किल छ,’ उनले भनिन्, ‘घर बनाउन अन्य आम्दानी छैन।’ उनका छिमेकी बाबु चेपाङले अन्य सहयोग जुटे गाउँलेले काठपात सहयोग गर्ने बताए। ‘हामी पनि उस्तै छौं, घर नै बनाइदिन त सक्दैनौं, अन्य केही सहयोग भए हामी गाउँलेले काठपात सहयोग गर्ने सोच बनाएका छौं।’

आफू निरक्षर भए पनि बिन्दुमायाले छोरीलाई यो वर्षबाट सानोडाँडाखर्कस्थित प्राथमिक विद्यालयमा भर्ना गरिदिएकी छिन्। तर, नेपाली भाषा नबुझ्दा उनकी छोरी अनितालाई पढ्न समस्या छ। ‘चेपाङ भाषामात्र बुज्छन्, नेपाली भाषा सिकाइरहेका छौं,’ शिक्षक बाबुराम घलानले भने, ‘भाषा नबुझ्दा पढाउन समस्या छ।’

१४ वर्षमा विवाह गरेकी बिन्दुमायाले आफू किशोरी र युवा भएको पत्तै पाइनन्। एकैपटक आमा बनेकी उनी बाहिरी संसारबारे बिल्कुलै बेखवर छिन्। गाउँका घरछिमेकबाहेक अन्य नयाँ व्यक्ति नदेखेकी उनले आउँदै गरेको निर्वाचनबारे पनि सुनेकी छैनन्। निरक्षर उनको नागरिकता पनि छैन। ‘चुनावबारे थाहा छैन, नेता पनि देखेको छैन,’ उनले भनिन्।

उनका श्रीमान्ले पनि हालसम्म मतदान गरेका छैनन्। बिन्दुमायालाई नेता हेर्ने भने रहर छ। ‘चुनाव भनेको के हो, मलाई थाहा छैन,’ उनले लजाउँदै भनिन्, ‘गाउँमा नेताको कुरा गरेको सुनेको छु, तर देखेको छैन।’

चुनावबारे बेखवर घरेडीबासी

घरेडी गाउँका प्रायः स्थानीय निर्वाचनबारे अनविज्ञ छन्। गाउँपालिकादेखि प्रतिनिधिसभासम्मका कुनै पनि नेतृत्वले हालसम्म यो गाउँमा पाइला टेकेको छैन। बिन्दुमायाका छिमेकी रामकुमार प्रजा र उनकी श्रीमती सम्झना प्रजाले पनि हालसम्म मतदान गरेकी छैनन्। नागरिकतासमेत नबनाएकी उनीहरूलाई पनि चुनावबारे थाहा छैन। ‘चुनाव भन्ने सुनेको छु, तर कस्तो हुन्छ थाहा छैन,’ उनले भनिन्। उनीहरूलाई मतदान गरेर के हुन्छ भन्नेसमेत थाहा छैन।

‘हाम्रो गाउँमा अहिलेसम्म कोही नेता भोट माग्न पनि आएका छैनन्। अरू बेला पनि आएका छैनन्,’ स्थानीय बाबु प्रजाले भने, ‘तर मैले चै भोट चै हालेको छु।’ यहाँ कोही भोट माग्न पनि नआउने र नेता पनि नआउने भएकाले चुनावबारे धेरैलाई थाहा नभएको उनले बताए। घरेडी गाउँमा १६ चेपाङ परिवारको बसोबास छ। दुई पटक मतदान गरेका स्थानीय ६५ वर्षीय विष्णुराम प्रजाले पनि आफूले मतदान गरेको नेता अहिलेसम्म देखेका छैनन्। ‘भोट त मैले दुई पटक हालिसकेँ, नेता पनि देखेको छैन, गाउँमा विकास पनि छैन’, उनले भने, ‘कोही चिनेको छैन, कहाँ गएर विकास माग्नु।’ धेरैले नागरिकता समेत नबनाएकाले चुनावबारे जानकारी नभएको विष्णुरामले बताए। ‘नागरिकता नभई भोट हाल्न पाइँदैन, यहाँ कोही भोट माग्न पनि आउँदैन,’ उनले भने, ‘त्यसैले धेरैले नागरिकता पनि बनाएका छैनन्।’

जंगलबीच रहेको चेपाङ बस्तीका प्रायः सबै परिवार ज्याला मजदुरीमा निर्भर छ। सुक्खा पाखो बारीमा उब्जनी गरेको अन्नले वर्षभरि खान पुग्ने यहाँ कुनै पनि परिवार नभएको स्थानीय शिक्षक घलानले बताए। ‘अलेली लगाएको अन्नबाली पनि बाँदरले राख्दैन,’ उनले भने, ‘यहाँसम्म नेताको पनि ध्यान गएको छैन, उनीहरूको राज्यसँग पहुँच पनि छैन।’ पढाइबारे महत्व बुझाएपछि यहाँका बालबालिकालाई भने अभिभावकले विद्यालय पठाउन थालेको उनले बताए। घरेडी गाउँबाट विद्यालय पुग्न एक घण्टा हिँड्नुपर्छ। प्रायः निरक्षर यो गाउँ पुग्न पूर्व–पश्चिम राजमार्गस्थित मनहरी बजारबाट चार घण्टाको मोटर यात्रा हुँदै थप एक घण्टा हिँड्नुपर्छ। तर, हिउँदमा मात्र मोटर चल्ने गरेको छ। यो गाउँ पुग्न सानो डाँडाखर्कबाट तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सडकको ट्रयाक खोलिएको छ। तर, स्तरीकरणको अभावमा गोरेटो बाटोका रूपमा मात्र सडक प्रयोग भइरहेको छ।

पहुँच हुनेलाई मात्र सुविधा

२०३४ सालबाट चेपाङ समुदायको समृद्धि र उत्थानका लागि प्रजा विकास कार्यक्रम लागू भएको थियोे। तर, यो कार्यक्रम २०७४ बाट सरकारले खारेज गरेको छ। तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित यस कार्यक्रमबाट चेपाङ बालबालिकालाई छात्रवृत्ति वितरण, खानेपानी, सिँचाइलगायतका काम गरिन्थ्यो। सँगै बिपन्न समुदायका लागि चेपाङ आवास कार्यक्रमअन्तर्गत घर नभएका चेपाङ परिवारलाई घर बनाइदिने अभियान सरकारले सञ्चालन गरे पनि हाल रोकिएको छ। चेपाङका लागि मात्र केन्द्रित यो कार्यक्रम अहिले जनता आवास कार्यक्रमको नाममा बिपन्न नागरिकहरूका लागि सञ्चालित छ।

तर, लालपुर्जा भएको जमिन चाहिने कार्यविधि र सरकारसँग पहुँच नभएका भीरपाखामा बस्ने बिपन्न चेपाङहरूले यो सुविधा पाउन सकेका छैनन्। यो कार्यक्रमले बिन्दुमाया जस्ता एलानी जमिनमा बसोबास गर्दै आएका बिपन्न चेपाङहरूले सुविधा पाउन सकेका छैनन्। चेपाङ आवास कार्यक्रमबाट हालसम्म ३७ सय परिवारले घर पाएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए। ‘अझै घर बनाउन नसक्ने ८ हजार जति परिवार छन्, तर उनीहरूसँग लालपुर्जा छैन’, उनले भने, ‘सरकारले कार्यविधि परिवर्तन नगरेसम्म साँच्चिकै बिपन्न चेपाङले घर पाउँदैनन्, लालपुर्जा हुने अलि बाठो चेपाङले मात्र अहिलेसम्म सुविधा पाएका छन्।’

चेपाङ जातिको मकवानपुरसँगै चितवन, धादिङ, गोरखा र केही संख्यामा लमजुुङ र तनहुँमा बसोबास छ। ‘कार्यविधिले घर बनाउन लालपुर्जा भएको जमिन माग्छ, तर अझै पनि ७० प्रतिशतभन्दा बढी चेपाङ समुदायको आफ्नो जग्गाधनी पुर्जा छैन,’ बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले भने, ‘यो कार्यक्रम राज्यले कटौती गरिसकेको थियो, हामीले पहल गरेर पुनः निरन्तरता दिन बजेटको काम अघि बढाएका छौं।’ अझै पनि आफ्नो बारीको उब्जनीले वर्षभरि खान पुग्ने परिवार न्युून मात्रामा छन्। अधिकांश चेपाङ परिवार ज्याला मजदुरीमा निर्भर छन्।

बिपन्नलाई सधैं उधारो आश्वासन
चेपाङ समुदायको जनसंख्या करिब एक लाख रहेको नेपाल चेपाङ संघको अनुमान छ। तीमध्ये करिब ५० प्रतिशत मतदाता रहेको संघले जनाएको छ। तर, बिपन्न चेपाङ समुदायमाथि प्रत्येक निर्वाचनमा आश्वासनका दर्जनौं पोका छाडेर उम्मेदवारहरूले मत लैजाने गरेका छन्। भोट बैंकका रूपमा मात्र चेपाङ समुदायलाई प्रयोग गरिएको चेपाङ अगुवाहरूको गुनासो छ।

यो पटक दलहरूले चेपाङहरूलाई घर बनाइदिने, रोजगारी दिने, शिक्षा र स्वास्थ्यमा सरल सुविधा दिनेलगायतका आश्वासन दिँदै मत मागेका छन्। नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले भने, ‘हाम्रो समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको छ, कुनै पनि पार्टीले राजनीतिमा स्थान दिने कुरामा होस् वा विकासका कुरामा होस् हामीलाई पछि पारेको छ।’ निर्वाचन जितेपछि राजनीतिक दल र नेताहरूले चेपाङ समुदायको दुःख नबुझेको उनको भनाइ छ। नौं चेपाङ समानुपातिक सूचीमा
बिभिन्न राजनीतिक दलले यो पटक ९ जना चेपाङलाई समानुपातिक सूचीमा राखेको निर्वाचन आयोगको तथ्यांक छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा नेकपा माओवादी केन्द्रले चितवनका भरतलाल चेपाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरका नौरमान चेपाङलाई राखेको छ।

त्यस्तै प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा नेकपा एमालेले चितवनकी सुनिमाया चेपाङ, राष्ट्रिय नागरिक पार्टीले धादिङकी सानुमाया चेपाङ, राष्ट्रिय समानता पार्टीले काठमाडांैका एकबहादुर चेपाङ, नेमकिपाले चितवनकी लक्ष्मी चेपाङ, मोहनबहादुर चेपाङ, नौलो जनवादी पार्टीले चितवनकी सन्ध्या प्रजा र नेकपा एकीकृत समाजवादीले मकवानपुरका कृष्णबहादुर प्रजालाई समानुपाति सूचीमा राखेको छ।

‘समानुपातिक सूचीमा नाम राखेर दलहरूले चेपाङ समुदायको भोट लिने तर सांसद नबनाउने परिपार्टी यो पटक पनि कायमै छ,’ संघका केन्द्रीय अध्यक्ष चेपाङले भने, ‘ठूला साना सबै दलले हाम्रो समुदायलाई भोट बैंक मात्र बनाएको छ।’ चेपाङ समुदायबाट हालसम्म तीन जना सांसद बनेका छन्। २०६४ मा नेकपा एमालेले संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, नेकपा माओवादी केन्द्रले गोर्खाकी माया चेपाङलाई संविधाससभा सदस्य बनाएको थियो। नेपाली कांग्रेसले मकवानपुरका सन्तबहादुर चेपाङलाई २०७४ मा बागमती प्रदेशसभाको सदस्य बनाएको हो। उनी हाल बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन्। (अन्नपूर्ण पोष्टमा कृष्ण सारुको समाचार)