हेटौँडा, १ कार्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ ।

अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हरायो ।

नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो ।

उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाए ।

नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदरल्याण्ड्सले यूएईलाई हराएका थिए ।

समूह ए मा दुई खेलमा चार अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । नामिविया दोस्रो स्थानमा छ । श्रीलंका र युएईले अंक जोड्न सकेका छैनन् । श्रीलंका पुछारमा छ ।