हेटौँडा, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ ।