हेटौँडा, ६ असोज । केपी ओली सरकारले चार वर्षअघि गरेको देशभरका यातायात संस्थाहरुको खारेजी र कम्पनीमा जानुपर्ने बाध्यात्मक निर्णय उल्टिएको छ । वर्तमान सरकारले सबै यातायात संस्थाहरुलाई साविककै संस्था दर्ता ऐन २०३४ अन्तर्गत पछिल्लो चारवर्षकोसमेत नवीकरण गर्ने निर्णयपछि देशभरका यातायात संस्थाहरु नवीकरण भएर साविककै अवस्थामा फर्केका छन् ।

देशभै ठूलो यातायात संस्था नारायणी यातायात व्यवसायी संघmे पनि असोज ४ गते चारवर्षपछि नवीकरण भएको जनाउँदै बिहीबार बिहान पत्रकार सम्मेलन गरेर संस्थाकै नाममा सामाजिक कार्य अघि बढाउने जानकारी दिएको छ ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले तत्कालीन केपी ओली सरकारबाट यातायात संस्थामाथि भएको प्रहारलाई वर्तमान सरकारले सच्याएको र शक्ति र सत्तामा रहँदा बदमासी गर्नेहरु जनताको नजरमा गिर्ने बताउनु भयो । उहाँले आगामी दिनमा पनि संघलाई सशक्त र सक्रिय बनाउन आग्रह गर्दै सहयोग रहने बताउनु भयो ।

यस्तै,वागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी लामाले मकवानपुरको सामाजिक क्षेत्रमा क्रियाशील संस्थामाथि सरकारबाटै प्रहार हुँदा सहयोग गरिएको र संस्थाले सम्झेर आभार प्रकट गरेकामा धन्यवाद दिनु भयो ।

कार्यक्रममा प्रदेश सभाका निवर्तमान सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामीले पनि नारायणी यातायातसँगै देशभरका यातायात संस्थाहरु नवीकरण भएकामा बधाई दिँदै सामाजिक योगदानमा सहकार्य गर्न अपिल गर्नु भयो । नेपाली कांग्रेसका मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेता आनन्दराम पराजुलीले यातायात संस्थामाथि पूर्वसरकारको ज्यादती गलत भएको बताउँदै वर्तमान सरकार यातायात व्यवसायीको पक्षमा रहेको बताउनु भयो ।

नेकपा एमालेका नेता अनन्त पौडेल, मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले विगतलाई बिर्सेर आगामी दिनमा सहकार्य गरेर जाने प्रतिवद्धता जनाउनु भयो । राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, पत्रकार प्रताप विष्टले यातायात क्षेत्रमा सुधार ल्याउँदै सामाजिक कार्यमा संघ सक्रिय रहनु पर्ने बताउनु भयो ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात व्यवसायीका पक्षमा सरकारले गरेको निर्णयको स्वागत गर्दै आगामी दिनमा संस्थालाई अरु सामाजिक बनाएर लैजाने र सबैैसँग सहकार्य गरिने बताउनु भयो ।
ओली सरकारले २०७४ चैत १८ गते याताया संस्था कम्पनीमा दर्ता गर्ने निर्णयसँगै २०७५ वैशाख ४ गते यातायात संस्था नवीकरण नगर्ने निर्णय गरेको थियो ।

शेरबहादुर देउवा सरकारले भदौ २० गते यातायात संस्थाको नवीकरण गर्ने निर्णय गरेको थियो भने गृह मन्त्रालयले भदौ २९ गते जिल्ला प्रशासनहरुलाई यातायात संस्था नवीकरणका लागि पत्राचार गरेपछि नारायणी याताया असोज ४ गते नवीकरण भएको हो । देशभरका यातायात संस्था पुनः सामाजिक संस्था ऐन अन्तर्गत सञ्चालन हुने भएको छन् । देशभर २६ वटा यातायात संस्था नवीकरण हुँदा ६५ हजार ट्रकका धनीहरु कम्पनी छाडेर पुनः सामाजिक संस्थामा आवद्ध भएका छन् ।