हेटौँडा, ५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको छ ।

आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध अदालत जाने बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताउनु भयो ।

राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डको भनाइ छ । २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो ।

२० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु भएको थियो । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नु भएन ।