हेटौँडा, १ असोज । मकवानपुरको बसामाडीमा बसामाडी सिमलथली डोजोको आयोजनामा भएको जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिताको विजेता छतिवन डोजो भएको छ ।

शनिबार भएको फाइनल खेलहरुमा ११ स्वर्ण, ६ रजत र ५ कास्यपदकसहित छतिवन डोजो प्रथम भएको हो । यस्तै, प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ५ कास्यपदक हासिल गर्दै लेवट डोजो द्वितीय भएको छ । १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्दै सिमात डोजो तृतीय भएको छ । प्रतियोगितामा पुरुषतर्फ छतिवन डोजोका सफल विक र महिलातर्फ लेवट डोजोका सुशीला दोङ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतियोगितामा छतिवन, हात्तीखोला, सिमात, गढी, मेन डोजो, हेटौँडा, नवलपुर, बसामाडी, गौरीटार डोजोका १ सय १८ खेलाडीले स्पर्धा गरेका थिए ।

विजयी डोजो र खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले खेलले समाजको विकास र सुधारमा योगदान पु¥याउन र देशलाई चिनाउन मदत गर्ने बताउनु भयो । आत्मसुरक्षा र आत्मबल विकाससँग जोडिएको खेलक्षेत्रलाई उपमहानगरले ६ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । आयोजक डोजोका अध्यक्ष सुरेन्द्र रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ३ नम्बरका अध्यक्ष ढलकबहादुर थापा, सितोरियो कराते संघ मकवानपुरका उपाध्यक्ष विकासराज बानियाँ, नेपाल कराते महासंघ बागमती प्रदेश प्राविधिक कमिटी संयोजक विष्णुभक्त लामालगायतले बोल्नु भएको थियो ।