हेटौँडा, २८ भदौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु विभिन्न भेटवार्तामा व्यस्त बन्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा हिजो देखि नेपाल भ्रमणमा रहनुभएका ली ले नेपालमा विभिन्न दलका शिर्ष नेताहरुसँगको भेटलाई तीव्रता दिनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो। भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ ।

आजै लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासित पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

ली पर्सि बिहीवार फर्किनु हुनेछ । उहाँको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।