हेटौँडा, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको उल्ल्ेख गर्नुभएको छ ।
कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उहाँ नेपालमा रहनुभएको छैन। अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो । एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
अलमुताईरीको नेतृत्वमा नेपालले १७ अन्तराष्ट्रिय खेल खेलेको छ । कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलो खेल इराकविरुद्ध खेलेको थियो भने अन्तिम खेल इन्डोनेसियाविरुद्ध रह्यो ।
कुवेती प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपालले ५ खेल मात्र जित्न सक्यो । तर, १० खेलमा हार व्यहोर्यो । यस्तै दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।
यस्तै उहाँको नेतृत्वमा नेपालले १७ खेलमा १४ गोल गर्दा ३६ गोल खाएको छ ।
कुवेती प्रशिक्षकले नेपालका युवा खेलाडीलाई भने मौका दिनुभएको थियो । उहाँले १६ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराउनुभएको थियो ।