हेटौँडा, ४ साउन । पटकपटक मिति तोकिएर स्थगित हुँदै हेटौँडामा साउन ६ र ७ गते हुन लागेको नेपाल प्रेस युनियनको महाधिवेशनले देशभरका पत्रकारको चासो हेटौँडामा केन्द्रित भएको छ । नयाँ नेतृत्व चयनको विषय पनि भएकाले सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्था युनियनमा नेतृत्वको होडबाजीको रस्साकस्सी सामाजिक सञ्जालमा पनि यसपटक राम्रैसँग देखिएको छ ।

यस्तै, रस्साकस्सीमा हेटौँडामा महाधिवेशन व्यवस्थापन स्थानीय समितिका संयोजक एवम् मकवानपुरका अग्रज पत्रकार राममणि दाहाल पनि यसपटक युनियनमा केन्द्रीय खुला उपाध्यक्ष पदाधिकारीको आकांक्षी बन्नु भएको छ । ‘यसपटक केन्द्रीय खुला उपाध्यक्षमा उम्मेदवार भएको छु, साथीहरुको साथ चाहन्छु,’ दाहालले भन्नु भयो, ‘लामो समयपछि अधिवेशन भएकाले युवा पुस्ताका साथीहरु नेतृत्वमा आउन खोजिरहनु भएको छ, यो राम्रो पक्ष हो, योसँगै मैले पनि उपाध्यक्ष हुने चाहना राखेको छु, साथीहरुले साथ दिनु हुने अपेक्षा गर्दछु ।’

युनियनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षपछिको तेस्रो वरियतामा खुला उपाध्यक्ष पद रहेको छ । नेपाल तरुण दल, नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ मकवानपुरमा नेतृत्व गरिसक्नु भएका दाहाल हेटौँडाबाट प्रकाशित हुने हेटौँडा पोष्टको सम्पादक हुनुहुन्थ्यो भने मोफसलमा बसेर दुई दशकभन्दा बढी समयदेखि गोरखापत्रमा आवद्ध हुनुहुन्छ र हाल बागमती प्रदेश संयोजकका रुपमा क्रियाशील हुनुहुन्छ ।

पटकपटक रोकिएको नेपाल प्रेस युनियनको महाधिवेशन हेटौँडामा पनि नहुने हो कि भन्ने संशय रहेका बेला स्थानीय समन्वय समिति बनाएर संयोजक भइ दाहाल अहोरात्र महाधिवेशन सफल बनाउन सक्रिय हुनुहुन्छ । युनियनको तेस्रो वरियताको नेता हुन खुला उपाध्यक्ष पदमा उम्मेदवार रहनु भएका दाहालले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई मत दिन अपिल गर्नु भएको छ ।