–रामकुमार एलन

धनकुटा–हिले, दिल–चित्त मिले
हे मया, जाउँ हिँड पाख्रिबास ।
मरिजाने चोला, जे हुन्छ–होला
हे मया, तिम्रो नै लाग्छ आस ।।

उहिल्यै रेडियो नेपाल सुन्नेबेला कुमार बस्नेत र उषाकिरण अधिकारीले गाउनु भएको यो गीतमा ‘दिल–चित्त मिले’ भन्ने पदावली चैँ धेरैपछि मात्र बुझेँ । हिलेजस्तै अर्को मिले गाउँ होला भन्ठान्थेँ । गीतमा केटा घुक्र्याइरहेका थिए, ‘माइतीघरमैै छोरा पाउने भै’छौ, हे मया नला’उनु मलाइ दोष ।’ केटी जवाफ दिन्छिन्, ‘हात्ती पाल्नु भन्दा स्वास्नी पाल्न गाह्रो भन्छन्, हे मया, नलाउ’नु मलाइ दोष ।’

त्यो बालापनको दिमागमा पसेको पाख्रिबास, हिले पुग्न बाँकी नै थियो । सायद दिल–चित्त नमिलेरै कोही कसैले भनेनन् एकपटक पनि, ‘हे मया, जाउँ हिँड पाख्रिबास ।’

असारको पहिलो सातातिर विश्वमणि सुवेदीले फोनमा भन्नुभयो, ‘धनकुटा जानु पर्ने भयो, गोपाल बराइलीजीले पत्रकारिता र पार्टी प्रशिक्षण राख्नु भएछ पार्टीबाटै ।’ हुन्छ, सल्लाह गरौँला भनियो । काठमाडौँ–हेटौँडा धपेडी । रेडियो, राजनीति, मुद्दा, पत्रकारिता, टुक्रेटाक्रे असारे बजेट सकाउने कार्यक्रममा निम्तो । हेटौँडा हुँदा काठमाडौँमा निम्तो, काठमाडौँ हुँदा हेटौँडामा बोलावट । यस्तै, झमेलाको ‘मेलामय’ जिन्दगी असार मसान्त, किस्ता, ब्याज, भाडा, तलब कसरी मिलाउने भन्ने अर्को प्रलय तनावको झरी । जीवन यस्तै त हो, सधैँ कहाँ ‘नुवाकोटको कान्छी बदाम’जस्तो मीठो हुन्छ र ? कहिलेकहीँ चितवनमा मिल्क होलिडेका कारण सडकमा बगाइएको ‘बाक्लो दूध’ पनि हुन्छ जीवन ।

यसपटक भने धनुकटा जाने सिलसिला मिल्यो । समाजवादी अध्ययन केन्द्र धनकुटाले धनकुटाका सबै पालिकाका समाजवादी अभियानमा जोडिएका विद्यार्थी पुस्तालाई तीन दिन बिहान–बेलुका (सातदिन बराबर) तालिम दिने योजना बुनेको रहेछ । त्यो तालिमे जालमा एउटा गोटी या एक लुङ धागो हुने कसी मिलाउनु भयो विश्वमणि सुवेदी र गोपाल बराइलीले ।

राति ९ बजे हेटौँडाबाट धनकुटा जाने बस पाइने रहेछ, काठमाडौंबाटै फोन आयो, लोथर आइपुगेर फोन गर्छु, बसपार्क निस्कनु होला । समयमा पुग्ने बानी छ । यद्यपि बस आइपुग्न समय लाग्यो केही मिनेट । त्यहाँबाट चढियो मनभरि धनकुटा सम्झँदै । रात छिप्पिँदै छ । बस रफ्तारमा दौडिरहेको छ । बसमा ३ जना चालक रहेछन् । कस्तो राम्रो । एउटा थाक्दा अर्कोले चलाउने । यो राम्रो लाग्यो ।

झण्डै झण्डै लास्ट सिटको छेउछाउमा बस्न पाइएको थियो । महेन्द्र राजमार्गका ठाउँठाउँमा पिच भत्किएको रहेछ, धेरै भयो लामो दूरीको यात्रा नगरेको, अझ कयौँ महिना राजमार्गमा बसमा नहिँडेकाले यसपटक यो दिव्य ज्ञान लाभ गरियो । बस अघि बढिरह्यो । लास्ट सिटमा एकजना ‘प्रकाण्ड विद्वान’ले कसैलाई पनि सुत्न दिनु भएन । बस ३ नम्बर पुल पुगेको छैन, हे गुरु, रोक्नु न सप्तकोशीमा माछा खाएर जानु पर्छ भन्छन् । यति कराउनु भयो कि, कतै पढेको थिएँ, अबको २० वर्षपछि हरेक घरमा एकजना मानसिक रोगी हुन्छन्, २० वर्ष कुर्न नपर्ने भयो, प्रत्येक एउटा बसमा ‘नमूना’हरु भेटिन थाले ।

केही यात्री कराउँछन्, यसलाई झारेर जाउँ हो, अति ग¥यो । मान्छे चुप हुन्छ । एकछिनको सन्नाटापछि फेरि आवाज आउँछ, राजतन्त्र, गणतन्त्र, अकवर, बीरवलको कथा । अनि भन्छन्, ‘साला, बसमा मभन्दा खातेहरु पनि चढेका रहेछन् ।’ मिर्चैया पुग्दासम्म यिनको कुराले सुत्न पाइएन । यात्रुहरुको गुनासोपछि बसका कर्मचारी आएर झपारे । चुप बसे । लगत्तै उनी सिट छाडेर म झर्छु हिँडेर धनकुटा जान्छु भनेर ढोकानिर पुगे । रात ढोकानिर भूइँमै बसेर काटे, फर्केर सिटमा आएनन् । त्यहाँ पनि कराइरहेका थिए । पछाडि कम सुनिन्थ्यो ।

मान्छेको स्वभाव । सबैको खानतलासी गरौँ रे । उनको कुरा । न मैले कसैको केही चोरेँ कि, केही हरायो कि, सबको खानतलासी गरौँ, मैले ऋण खाए झैँ भयो । उनको कुरा, पिरो हुँदै गएको आँखा, गतिमा दौडेको बसले भैँसीजत्रो खाल्डोमा फाल हालेर दौडँदा कस्तो होला । त्यसमाथि एक नमूनाको कचकच ।

साथमा एक बच्चाकी आमा हुनुहुन्थ्यो । बहिनीलाई पनि अप्ठेरो भएको होला । मलाई पनि सहज थिएन । पहिलोपटक रातको यात्रा । बस पूर्वतिर दौडिरहेको छ । पानी झमझम परेको पनि छ कतै । कतै चकमन्न मध्यरात छिप्पिँदै छ । एवम्रीतले बिहान ४ बज्दा त हामी इटहरी पुगिसकेका छौँ । चोकैपिच्छे मान्छे झर्दै छन् । हेटौँडाबाट धनकुटा जाने यात्रु टन्नै हुँदारहेछन् । यसपटक अनुभूत भयो ।

बसका कर्मचारी अब धनकुटा, हिले जाने यात्रु खोज्न थाले । त्यहाँबाट पनि टन्नै भाडा उठ्दोरहेछ । धनकुटाबाट हिले जान पनि १०० रुपैयाँ भन्दा बढी भाडा लाग्दोरहेछ । पहिलोपटक जाँदै । कता हो धनकुटा, कता हिले, कता पाख्रिबास । रातभर अनिदो अनि रातो आँखा । एउटै स्टेसनमा ओर्लने बहिनीसँग एकवचन नबोली पुगियो हिले । बसका नमूना पनि इटहरी, धरान कता ओर्लिए, थाहा भएन । यस्ता नमूनाले रात अनिदो मात्र भएन, कहिले खाते भने, कहिले उसले सामान चोरी गर्यो कि भनेर हाम्रो खानतलासी लिउँ भन्छ, राजतन्त्र ठिक पनि भन्छ । यस्तै ‘बरिलै र लैबरी’हरुलाई चाहिएको छ राजतन्त्र, कमल थापाले त छाडेका बेला । अनि राष्ट्रवादी सूर्यबहादुर थापाको जिल्ला जाँदै गर्दा उनै थापाको छोरासमेत कांग्रेस र गणतन्त्रमा आइसकेका बेला ।

अब तालिमतिर लागौँ । पाख्रिबासको कृषि अनुसन्धान परिषद परिसरमा तालिम चलिरहेको थियो । आवासमा पुग्दा नेकपा (एकीकृत समाजवादी) धनकुटाका अध्यक्ष अर्जुन राई भेटिनु भयो अप्रत्यासित । उहाँ आफैँ यो तालिमको आयोजक, एक चिन्तक हुनुहुन्थ्यो । आवासमै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका प्रेस सल्लाहकार बन्धु पोखरेल र कान्तिपुर टेलिभिजनका प्रदेश ब्युरो प्रमुख महाप्रसाद खतिवडा भेटिनु भयो । अघिल्लो दिन उहाँहरुले प्रशिक्षण दिइसक्नु भएको थियो । कक्षा चलिरहेको थियो, तारा लामगादे कक्षा लिइरहनु भएको थियो । समाचार कसरी लेख्ने भन्ने अभ्यास चलिरहेको थियो ।

३८ डिग्रीको हेटौँडाबाट स्वात्तै २१ डिग्रीको धनकुटा पुग्दा चिसो हुने नै भयो । त्यसमाथि, सिमसिम पानी, अनिदो रात । किन सुनिरहनु प¥यो र, ‘झमझम पानी परेको रात, त्यही रात भएँ बर्बाद ।’ यहाँ दिउँसै मान्छे बर्बाद हुन बेर छैन । हिलेबाट पाख्रिबास आउनेक्रममा बाटोमा निद्राको तालमा १५ मिनेट हिँड्दा हिलेको हिलोमा चिप्लिएर झण्डै पिलित्तै भएको । त्यसमाथि कोट लगाएर हिलोमा लड्दा उठाउने भन्दा हास्ने धेरै पो होलान् हौ ।

स्नातक तहमा अध्ययनरत र प्लस टु जेनेरेसनका भाइबहिनीहरु थिए । झट्ट हेर्दा मेरै गाउँ हाँडिखोला, मनहरी, राईगाउँ, फापरबारी, भीमफेदी पालुङका जस्ता । फरक यति हो, यताकाहरु मगर, तामाङ हुन्थे, उताका राई, लिम्बू, लिंखा थिए । केही क्षेत्री, बाहुनहरु पनि थिए । दलित समुदायको पनि उपस्थिति थियो । २७ प्रशिक्षार्थीमध्ये ६ जना पुरुष थिए । मनोज मुक्तान, बागमती प्रदेशका तामाङ झैँ टाठाबाठा र बोलिरहने भाइ पनि थिए । किशोरकिशोरीको दिमागमा फायर खोल्नु न थियो । भनेँ, सिक्ने महिला धेरै, प्रशिक्षक जति पुरुष मात्रै ? उनीहरुको मनमुटु, दिमागमा यो प्रश्नले ‘ब्लास्ट’ ग¥यो । उनीहरु ‘हो त नि,’ ‘आम्बौ’, हामी महिला पनि पछि परेकै हौँ भन्न थाले ।

हास्दै–हसाउदै अनि गम्भीर बनाउँदै, गम्भीर बन्दै–बनाउँदै अनि फेरि हसाउदै कक्षाहरु चले । मलाई अन्तरवार्ता र समाचार अन्तरवार्ताको पढाइ भनिएको थियो । त्यहाँ पुगेपछि हल्का कोर्स बदलियो । अरु विषय पनि पढाउनु प¥यो । पत्रकारिताको ‘प’ सिक्दै गरेका र समाजवादी यात्राको ‘स’ भन्दै गरेका पुस्ता, पहिलो भेट, कतै सन्तुष्ट पारेर पढाउन सकिनँ कि ? मन जागा, कान ठाडा पारिरहेँ । ‘यस्तो पनि पढाइ हुन्छ’ भनेर छुर्पी–छुर्पीले हानेर मलाइ घाइते पारे भने के गर्ने ? छुर्पी बोक्ने झोला पनि लिएर गएको थिइनँ ।

अधिवक्ता निश्चल राई अर्का समाजवादी अभियान्ता भेटिनु भयो । मलेसिया पनि जानु भएको रहेछ । राष्ट्रिय खेलाडी । विदेशमा दुःख गरेर फर्केर धरानमा राजनीति र वकालतमा जोडिँदा समाजवादी अभियानमा भेटियौँ, गफियौँ, सँगै पियौँ पनि तातो पानीमा केही पदार्थहरु हालेर । सबैका दुःख एउटै छन् । देशमा भविष्य खोज्दाखोज्दै परदेशिनु पर्ने राष्ट्रिय खेलाडीहरु देशका गहना हुन् कि रद्दीका टोकरी । जुन भूगोल भए पनि हामी सबैको एउटै पीडा छ, समस्या छ, अवसर छैन, अभाव छ, तनाव छ, परिवार पाल्ने दबाब छ । त्यसै गीत गाएका होइनन् सौगात सायर र माधवी अर्यालले, ‘तिमी रोयौ कतै, म रोएँ कतै, जहाँ रोए पनि हाम्रो आँसु त मिल्दोरहेछ ।’ त्यसैले त हामी अहिले समाजवादी अभियानमा फेरि साथसाथ छौँ ।

दुईदिने बसाइ, नयाँ उत्साह र उमंग बोकेका समाजवादी अनुहारलाई समाचारको भोकमा एक दुई डाडु भए पनि मिठोमसिनो पस्कनु मेरो दायित्व थियो । सकेको पढाएँ, सिकाएँ, लेखाएँ, घोकाएँ, बोल्न सक्ने बनाएँ । अभ्यास हो पत्रकारिता, प्रमाणपत्र सिरानीमा हालेर अनि फेसबुकमा हालेर समाचार लेख्न सकिन्न, सिकेको पनि बिर्सिइन्छ । समाचार लेख्ने अभ्यास गरे पक्कै सफल भइन्छ । यसो भन्दै बिदा हुने बेला पाख्रिबास सिमसार घुम्यौँ । समापनमा माओवादीका प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठले पनि पत्रकारिताको प्रशंसा गर्नु भयो । समाजवाद र पत्रकारिताको यो तीनदिने अभ्यासले पक्कै धनकुटाका सबै पालिकामा नेकपा (एकीकृत समाजवादी) र पत्रकारिता अर्थात् आमसञ्चारबारे नयाँ पुस्ताले सिक्न पाए भन्ने लागेको छ ।

सिमसार पुगेर केही तस्बिरहरु खिच्यौँ । धनकुटा आएर साँझ केहीबेर घुम्यौँ । साँझ फेरि चिसो धनकुटामा माहौल तातो बनाउन ‘इभवाक’ ग¥यौँ । बिहानै ५ बजे बसपार्क पुग्नु थियो । त्यसैले धनकुटामा छोटो बसाइ, सीमित भेटघाट भयो । पत्रकारिता गर्छु भन्नेहरुलाई सधैँ साथ र सहयोग रहनेछ ।

बरु नाम पो बिर्सेँ, सिमसार जान ओरालो झर्दा जुत्ताले खुट्टा दुखायो भन्दा एउटा प्रशिक्षार्थीले डाइलग मारिन्, ‘शिखर सुज होला, ओरालोमा गाह्रो हुन्छ ।’ यसरी हिँड्नु पर्छ भन्ने थाहा पाएको भए स्पोर्टर्स सुज लगाउँथे । छिनमै कुहिरीमण्डल, छिनमै सफा मौसम । आहा ! पाख्रिबास । अनि दिल–चित्त मिलेका अर्जुन राई, गोपाल बराइली, तारा लाम्गादे, निश्चल राई र अनिता भट्टराई । सबैसबैलाई असिम सम्झना । सम्झना पत्रकारिता तालिममा सहभागी सबै भाइबहिनी कमरेडहरु । पत्रकारितामा हामी भेटिइरहनेछौँ सिमसारमा भेटिए झैँ, धरान धनकुटाको बसमा भेटिए झैँ, फेसबुक र टिकटकमा भेटिए झैँ, समाजवादीको पार्टी कार्यालयमा भेटिए झैँ । अँ, अस्ति बसमा जाँदा भेटिएको एउटा नमूना भेटिए झैँ । प्रिय पाख्रिबास, धन्यवाद धनकुटा ।

फेरि पनि भन्छु, पत्रकारिता बोल्ने र लेख्नेको पेशा हो है । मुन्टो हल्लाउने र टाउको हल्लाउँदै ‘बुझ्यौँ सर’ भन्नेहरुको होइन ।

ब्लगमा भेटिएका तस्बिरहरुले पक्कै भन्नेछ कि, धनकुटाको पाख्रिबास आकर्षक ठाउँ हो, एकपटक पाख्रिबास घुम्न जानै पर्छ । तपाईंलाई कुरिरहेको छ पाख्रिबासले । जानुहोस् है परिवारसहित एकपटक पाख्रिबास ।

लेखमा प्रयोग भएको माथिको तस्बिर चैँ अम्बिका लिंखाले खिच्नु भएको हो ।