हेटौँडा, २७ बैशाख । स्थानिय तह निर्वाचनको आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिको समयमा चुनाव प्रचारप्रसारका कार्य गर्न मिल्दैन । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न उम्मेद्वारहरु लागिपरेका छन् ।
यसपटकको स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गरेर अघि बढेको छ भने प्रमुख प्रतिपक्षी एमाले एक्लै चुनावमा होमिएको छ । तर, स्थानिय तहको कतिपय स्थानमा भने गठबन्धनका दलहरु नै एक्लाएक्लै चुनावी मैदानमा छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका पुष्प कार्की र एमालेका शंकर राज बराल बिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
अध्यक्षमा फेरी दोहोरिने कार्कीको लक्ष्य
यसअघिको स्थानिय तह निर्वाचनमा काँग्रेसबाट विजयी हुनुभएका कार्की यसपटक पनि दोहोरिने दौडमा हुनुहुन्छ । अध्यक्षमा उम्मेद्वारी दिनुभएका कार्की नागरिकको चाहना अनुसार नै आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । देशको समृद्धिका लागि केन्द्र र प्रदेशको सपना साकार बनाउन एउटा इँटा थप्ने कार्य पालिका सरकारले गर्ने हुँदा उम्मेद्वारी दिएको दावी गर्नुहुन्छ । हामीसँग स्रोत साधन जे छ त्यसै अनुसार अघि बढ्नपर्छ, तत्कालै ठुला ठुला कलकारखाना खोल्ने, आजको भोली नै हरियाली हुने झिलिमिली हुने भन्ने कुरा हुँदैन, उहाँले भन्न्ुभयो । नागरिकको चाहना अनुसार काम गर्नपर्छ ।
शिक्षाको क्षेत्रमा धेरै काम भएका छन्, अन्य आवश्यक काम गरिरहेका छौँ । सुगर प्रेसरका रोगीहरुलाई औषधी उपचार निशुल्क रुपमा प्रदान गर्नुपर्नेछ ।
अघिल्लो नेतृत्व असफल भयो
अध्यक्ष पदका अर्का उम्मेद्वार बरालले पालिकामा अघिल्लो नेतृत्व भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । उहाँले यसअघिको नेतृत्वले जनताको हितमा काम गर्न नसकी कुशासन र अनियमिततामा फसेको बताउनुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, यातायातको व्यवस्था गर्न, सञ्चार, कृषि प्रवर्धन गर्न आफ्नो उम्मेद्वारी रहेको उल्लेख गर्नुभयो । जनताको मर्म र भावनाको कदर गरि जनताको हितमा काम गर्न आफु सक्षम रहेको दावी गर्नुभयो ।
एक कार्यकाल पालिकाको जिम्मेवारी सम्हालिसक्नुभएका कार्कीसँग प्रतिष्पर्धामा रहनुभएका बराल आफुले जित्नेमा ढुक्क हुनुहुन्छ ।
‘यहाँका नागरिक अघिल्लो नेतृत्वसँग असन्तुष्ट हुनुहुन्थ्यो, मलाई सबैले विश्वास गर्नुभएको छ, उहाँले भन्नुभयो –कार्यालयमा कर्मचारी नरहेपछि टाढाबाट सेवा लिन आएका नागरिक आजित भएको कुरा सबैलाई जानकारी नै छ । नागरिकको मत लिएर नेतृत्वमा पुगेपछि नागरिकप्रतिको जिम्मेवारी पुरा गर्नुपर्छ ।’