हेटौँडा, २६ बैशाख । स्थानिय तह निर्वाचनको मुख्य दिन आउन अव ४ दिन मात्र बाँकी छ । बैशाख ३० गते हुने निर्वाचनको तयारी तिव्र बनाइएको छ । भोली २७ गते मध्यरातीदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जानएको छ । मौन अवधिमा चुनावी प्रचार प्रसारका कार्यक्रम गर्न पाँइदैन ।

यतिबेला उम्मेद्वारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । उनीहरु आफ्ना योजना तथा एजेण्डा सुनाउँदै कसरी मतदाताको मन जित्ने र आफ्नो जित सुनिश्चित गर्नमा केन्द्रित छन् ।

यस पटकको पालिका चुनावमा सत्ता गठबन्धन साझा उम्मेद्वार उठाएका छन् भने एमाले तथा अन्य केहि दलले उम्मेद्वार उठाउँदा स्वतन्त्र उम्मेद्वारी दिनेहरु पनि रहेका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सत्ता गठबन्धन र एमालेबिच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

यस्तै गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा काँग्रेस, माओवादी र एमालेले छुट्टाछुट्टै उम्मेद्वारी दिएका छन् । यस वडामा माओवादी केन्द्रका रोशन श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ । वडा अध्यक्षका उम्मेद्वार श्रेष्ठसँग उम्मेद्वारी, योजना तथा चुनावी एजेण्डाका विषयमा शक्तिखवरका सम्झना श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा तपाइको उम्मेद्वारी कीन ?
सर्वप्रथमत त यो गोलन्जोर गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा मैले उम्मेद्वारी दिँदै गर्दा राजनितिक दृष्टिकोणले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुछ । यस वडाको समग्र विकासका लागि र यहाँका नागरिकको आर्थिक प्रगतीका लागि पनि मेरो उम्मेद्वारी रहेको छ ।

यसअघि जनताले छानेका प्रतिनिधिले आश्वासन मात्र दिए, तर नेतृत्वमा पुगेपछि विकास निर्माणको काम भन्दा आफ्ना आसेपासे कार्यकर्तालाई पोस्ने र भ्रष्टाचार बढ्योे त्यसलाई रोक्नु छ । वडाको नेतृत्वमा युवाको भुमिका हुनु जरुरी छ , त्यसकारण पनि मेरो उम्मेद्वारी रहेको छ ।

वडाको विकासका लागि तपाइको योजनाहरु के के छन् ?
शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, कृषि, रोजगारी, पर्यटन प्रवर्दन लगाएत क्षेत्र मेरो मुख्य प्राथमिकतामा छ । बालबालिकाको उज्वल भविष्यका लागि प्राथमिक तहको शिक्षालाई अंग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य छ । यसैगरि हामीसँग भैरहेका स्वास्थ्यका पुर्वाधारहरुलाई समुदायमैत्री बनाउनुछ भने सिंचाई हुन नसकेको सुख्खा क्षेत्रहरुमा सिंचाई सुविधा पुर्याइने छ ।

कृषिमा सहकारी संस्थामार्फत् उत्पादन, अनुदान र बजारीकरणको व्यवस्था गर्ने छु । पालिकाको ६ नम्वर वडालाई गौरवको योजना मार्फत् बाशेश्वर चक्रपथको विकास गरिनेछ, यसले हाम्रा सबै गाउँ बस्तिहरुलाई सडक सञ्जालमा जोडिनेछ । यसबाट आर्थिक स्तरमा प्रगती हुने विश्वास लिएको छु । यसैगरि सबै घरहरुमा विद्युत् पुर्याउने, खानेपानी एक घर एक धाराको योजना बनाएको छु ।

टेलिफोन, टेलिभिजन र इन्टरनेटको सुविधा प्रदान गर्ने तथा वडाको सम्पुर्ण कामलाई प्रविधिमैत्री बनाउनेछु । खेलकुदको विकास, मनोरञ्जनका लागि पार्कहरु निर्माण गर्ने, ¥याफ्टिङलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिनेछ । साथै पर्यावरण रक्षाका लागि बनजंगलहरुमा पोखरी निर्माण गरि हरियाली बनाउने, नाकाजोलीलाई जुनारको हव बनाउने, होमस्टेको निर्माण गर्ने योजना छ ।

जेष्ठनागरिक भत्ता बैंकिङ् प्रणाली मार्फत् गरिँदै आएको छ, यसबाट बाआमाहरु मर्कामा परेका छन्, उहाँहरुको भत्ता घरघरमै पुगेर सहज रुपमा प्रदान गर्ने योजना छ ।


घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा कार्यक्रमलाई कसरी ध्यान दिनुभएको छ ?

हामीले घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा कार्यक्रमलाई आवश्यकता ठानी प्राथमिकता दिएका छौँ । घरदैलो कार्यक्रममा उम्मेद्वारको टोलीले मत माग्ने काम गर्छ भने अर्काे एउटा टोलीले हरेक घरमा हरेक मतदातालाई मतदान गर्ने बारे जानकारी दिनेछ । यसरी हामीले मतदाताको मर्म र भावना अनुरुप अघि बढेका छौँ ।