हेटौँडा, २५ फागुन । ६५ दिनपछि अर्थात् आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ, । बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका, जुन बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये एकमात्र उपमहानगर पनि हो, यहाँ नेपाली कांग्रेसबाट मेयरमा प्रभात दाहालको चर्चापछि कांग्रेस मकवानपुरको राजनीति नै अलग ढंगले चर्चा हुन थालेको छ । एकाएक मकवानपुरको हेटौँडादेखि गाउँघरका मिडियामा दाहाल पछिल्लो २४ घण्टा एकछत्र छाइरहेका छन् ।

फागुन १६ गतेमात्रै जिल्ला सभापतिमा पराजित आनन्दराम पराजुली नै हेटौँडा उपमहानगरको मेयर हुने चर्चा एकाथरि कांग्रेस वृत्तमा छदैँछ । अर्काथरिहरु भन्छन्, ईन्द्र बानियाँसँग टसल गरेपछि आनन्दराम पराजुली सभापति जस्तै मेयरको दौडमा पनि दोस्रो भइसके । सुनाउनेहरु कांग्रेस नै हुन्, अर्काथरि भन्छन्, प्रभात दाहाल अबका मेयरका उम्मेदवार, नभए राजेश बानियाँ, आनन्दराम पराजुली त तेस्रो नम्बरमा पुगिसके ।

यसो भनिरहनुको कारण के हो भने अघिल्ला जिल्ला अधिबेसनहरुमा ईन्द्र बानियाँलाई काउन्टर दिएका नेपाली कांग्रेसका नेता प्रभात दाहाल यसपटक मौन मात्रै बस्नु भएन, खुलमखुल्ला बुद्ध लामालाई सभापति बनाउने अभियानमा जुट्नुभयो । बुद्ध लामा चैँ ईन्द्र बानियाँका सभापतिका उम्मेदवार हुनुहुथ्यो ।

बानियाँको समर्थनमा अघि बढ्नु भएका लामालाई दाहालले समेत साथ दिएपछि गैरसंस्थापन पक्ष र संस्थापन पक्षभित्र पनि तरंग नफैलिएको होइन । विगतका प्रतिस्पर्धी बानिया र दाहाल कसरी मिले ? यसको असर कहाँ पर्छ भनेर नेपाली कांग्रेसको राजनीतिमा अनेक अड्कलबाजी भइरहे । तर, त्यसको असर देखा पर्न धेरै दिन लागेन ।

दाहालले मकवानपुरको सबैभन्दा ठूलो स्थानीय तह हेटौँडा उपमहानगरपालिकामा सरकार प्रमुख हुने गरी सक्रियता देखाउन थाल्नु भएको छ । उहाँको सक्रियतालाई बानियाँलाई अस्वाभाविक मान्नु भएको छैन । करिब १२ वर्षदेखि मकवानपुरमा संस्थापन इतरको राजनीति गरेर छायाँमा परेको दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री हुनुहुन्छ । जिल्ला अधिवेशनमा बानियाँ र दाहाल एउटै मोर्चामा उभिएर लामालाई सभापति पदमा विजयी गराएपछि अबको हेटौंडाको मेयरमा पार्टीले दाहाललाई टिकट दिने विश्वास गरिएको स्रोत बताउँछ ।

दाहालले कांग्रेस मकवानपुर सल्लाहकार, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।

लामो समय मकवानपुर कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका दाहाल हाल केन्द्रीय नेता प्रकाशमानसिंहको विश्वासिलो पात्र हुनुहुन्छ । कांग्रेस महाधिवेशनमा सभापति देउवा र सिंह एउटै कित्तामा उभिएपछि मकवानपुरमा दाहालको प्रभाव बढेको हो । महासमिति प्रतिनिधि छनौट गर्दा बानियाँले दाहालको माग अनुसार संख्या उपलब्ध गराएपछि झन् काँग्रेसभित्र हलचल मच्चिएको बताइन्छ । स्थानीय चुनाव र पार्टी सञ्चालनका सम्बन्धमा बानिया र दाहालको नियमितजस्तै छलफल र भेटघाट हुने गरेको स्रोत बताउँछ ।

यता, पार्टी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलगायतको टिम भने मेयरमा आनन्दराम पराजुलीकै पक्षमा देखिनु भएको बताइन्छ । हेटौँडामा मेयरमा प्रभात दाहालको चर्चाले राक्सिराङ, मनहरी, वकैयामा पनि सम्भावित पालिका अध्यक्षमा अरु पनि अनुहार यसरी नै चर्चामा आउने अनुमान अर्काथरि कांग्रेसजनको छ ।

यद्यपि, नेपाली कांग्रेसले फागुन २६ गतेदेखि लागू हुने गरी देशभरिका नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा आफूले चाहेको पदका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा आफूखुशी नलेख्न र नलेखाउन परिपत्र गरेपछि कांग्रेसका अरु नेताहरुलाई पनि प्रभात दाहालले छक्क पारिदिनु भएको छ ।

यो पनि पढ्नुहोस्ः