हेटौँडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निस्कर्ष निकालेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय चाबहिलमा बसेको केन्द्रिय पदाधिकारीको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर आयोगमा नजाने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको विधान संविधानको परिधि भित्र नै रहेकोले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताउनुभयो ।

अध्यक्ष लिङदेनले साम्प्रदायिक र धार्मिक सद्भाव बिथोलिने गरी कुनै पनि चिन्ह प्रयोग गर्न पाइँदैन भनेको भनिए पनि कुुनै पनि दललाई आस्थाको आधारले प्रतिबन्ध लगाउन पाउने र यस किसिमका प्रश्न उठाउन पाउने अधिकार निर्वाचन आयोगलाई नभएको उल्लेख गर्नुभयो ।