हेटौँडा, ९ माघ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँले यसअघि स्थापना भएको आयोगले गरेको कामलाई निरन्तरता दिने बताउनुभयो ।

शक्तिखवरसँग कुराकानी गर्दै दाहालले अघिल्लो आयोगले जे जती प्रगति गरेको त्यसैलाई निरन्तरता दिने बताउनुभएको हो । ‘पूर्ववर्ती आयोगले लिएको निवेदन हामीले सुरक्षित रुपमा लिएका छौँ, त्यसैको आधारमा हामी अघि बढ्छौँ । अव जनतालाई निवेदन दिन लाइनमा पनि लगाउँदैनौँ ’ दाहालले भन्नुभयो ।

उहाँले राष्ट्रियसभा सदस्य निर्वाचन (माघ १२) पछि मकवानपुर भूमि आयोगले पुर्णता पाउने बताउनुभयो । सरकार परिवर्तन भएसँगै आयोग खारेज हुँदा नागरिकमा निराशा छाएको थियो । नागरिकमा रहेको भ्रम चिर्दै खुसीमा बदल्ने प्रयत्न गर्ने दाहालको भनाई छ ।

‘सबैले सहयोग गरे भूमि, अव्यवस्थित बसोबास तथा सुकुम्बासीका समस्या समाधान हुन्छ, यदि मेरै कार्यकालमा समस्या समाधान नभए पनि यि र यस्ता खालका कारण समाधान हुन सकेन भन्ने निचोडका साथ बाहिरिन्छु । नागरिकका यो समस्या जसरी पनि फत्ते पार्नुपर्छ भन्ने दृढताका साथ लागेको छु ।’ दाहालले भन्नुभयो ।

उहाँले यहि माघ १८ गते छुटफुटका लागि निवेदन दिन ३५ दिने सुचना जारी गर्ने जानकारी दिनुभयो ।

कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस् ।