हेटौँडा, ९ माघ । महोत्तरीको सोनमा गाउँपालिका– १ सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपियरिङ सेन्टरमा गएराति आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गएराति आगलागी भएको हो ।

आगलागीबाट घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।