हेटौँडा, ८ माघ । कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताउनु भयो । एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको उहाँको जिकिर छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रबिरुद्धको षड्यन्त्र भएको दाबी गर्नु भयो ।

सुरेन्द्र यस्तै वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले यथासमयमै निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता डाक्टर खिमलाल देवकोटाले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकाले संशय नगर्न आग्रह गर्नुभयो ।

नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताउनु भयो ।

संविधानमा पालिकाका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र र निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै चुनाव गरिसक्नु पर्ने उल्लेख छ ।

सरकारले मिति घोषणा गर्न ढिलाइ गर्दा वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा परेको छ ।