फाइल तस्विर

हेटौँडा, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सरकारको नेतृत्व सम्हालेको ६ महिना पुरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकारसहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताउनुभयो । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । उहाँले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आफुले सरकराको नेतृत्व गरेपछि उत्पानदनमुखि अर्थतन्त्रमा जोड दिएको, महंगी नियन्त्रण तथा भ्रष्टाचार जन्य कारवाहिको छानविन गर्ने लगाएतका काम भएको जिकिर गर्नुभयो ।

यस्तै मेलम्चि खानेपानी आयोजनाको पुनः स्थापना गरि यसवर्षभित्रै मेलम्चिको पानी काठमाण्डौमा वितरण गर्ने गरि काम अघि बढेको बताउनुभयो । यस अवधिमा नारायणी, नवलपुर, भरतपुर, दाङ, शिद्धनाथ-वैद्यनाथ लगाएत खानेपानी आयोजनाहरु सम्पन्न भएको उल्लेख गर्नुभयो ।

संबोधनको क्रममा देउवाले ३३८ किलोमिटर अप्टिकल भाइवर बिछ्याउने कार्य सम्पन्न भएको जानकारी गराउनुभयो । यस्तै ८९ किलोमिटर मोवाइल ब्रोडव्याण्ड विस्तार भएको बताउनुभयो ।

यस्तै कञ्चनजंगा, रुवीभ्याली, दोलखा मकालु, अन्नपुर्ण, धौलागिरी मनास्लु सगरमाथा लगाएका स्थानमा पदयात्रा मार्ग निर्माण गर्ने कार्य अन्तर्गत २१५ किलोमिटर पदयात्रा मार्ग निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो ।

काँग्रेस सभापति देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठनको ६ महिना पुगेको अवसरमा आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।