फाइल तस्विर

हेटौँडा, ५ माघ । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए । अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए ।

पवन सर्राफ सुन्य रनमा आउट भए ।

एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।

भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए ।

किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३ र ३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १ र १ विकेट लिए ।