हेटौँडा, २ माघ । हेटौँडाका यातायात व्यवसायी नै कोभिड संक्रमण कम गर्न जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न राजी भएका छन् । कोरोना संक्रमण वृद्धिसँगै यातायात क्षेत्र नै मारमा पर्ने भएकाले सजगता अपनाएर सचेत भएर यातायात सञ्चालनका लागि सहमत भएका हुन् ।

हेटौँडासहित ९ स्थानमा यातायात क्षेत्रकै समन्वय र पहलमा यात्रुलाई टिकट काट्न सुविधा, मास्क, सेनिटाइजर उपलब्धताको व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र पुरानो नारायणी संघको सहकार्यमा सामुदायिक प्रहरी सेवा केन्द्र, उपसेवा केन्द्रमार्फत यात्रुलाई सहजीकरण अभियान चलाइएको हो । बसमै यात्रुलाई बजारमूल्यमा मास्क उलब्ध गराइन्छ ।

यस्तै, कोभिडका बेला ओभरलोड नबोक्न पनि यातायात व्यवसायीलाई आव्हान गरिएको पुरानो नारायणी संघका अध्यक्ष हीरालाल श्रेष्ठले बताउनु भयो । हेटौँडा, बारा, पर्साका यातायात व्यवसायीले संयुक्तरुपमा अपिल गर्दै ओभरलोड नबोक्न, स्वास्थ्य मापदण्ड अपनाउन, यात्रुलाई भार र मार नपार्न आग्रह गरिएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर सुरक्षा मापदण्ड पालना गर्न यात्रुलाई सहजीकरण गर्नेछ । अनुगमन प्रशसनले गरिरहेको हुनेछ ।

७ गतेदेखि यात्रा गर्न खोप अनिवार्य
माघ ७ गतेदेखि लामो तथा छोटो दूरीमा यात्रा गर्न खोप अनिवार्य गरिएको छ । केन्द्रबाटै परिपत्र भएपछि मकवानपुरमा पनि यसको पालनामा कडाइ गरिनेछ । खोप नलगाएका नागरिकले स्थानीय वडा, पालिकामा यो हप्ताभित्र खोप लगाउन राज्यले नै आव्हान गरेको छ ।