हेटौँडा, २ माघ । पूर्व पश्चिम राजमार्गको मनहरी बजारमा प्रहरी चौकी अगाडि नै मोटरसाइकल यात्रुलाई लडाएर भागेको ट्रिपर प्रहरीले सिसिटिभी फुटेजको मदतमा नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले मनहरीबजारबाट तीव्रगतिमा भागेको ट्रिपरलाई सिम्पानीमा नियन्त्रणमा लिएको हो । घाइतेको उद्धार अनि ट्रिपर नियन्त्रणमा लिनु पर्ने अवस्थामा नम्बरसमेत पत्ता नलागेपछि सिसिटिभी फुटेज हेरेर खोजी गरिएको हो ।

मनहरी बजारमा बिहानै चितवनबाट आइरहेको ना २ क ४३१ नम्बरको ट्रिपरले हेटौँडाबाट आइरहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । घाइतेमध्ये महिललाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।