हेटौँडा, २८ पुस । छेवैमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, अनि मकवानपुरमा अग्रज पत्रकारहरु । साथमा पत्रकारितामा भविष्य खोजिरहेका ४० को हाराहारीमा प्रशिक्षार्थीहरु ।

हठात् आइपुगे जेनिस उप्रेती । सबैलाई शालीनसँग नमस्कार गरे । केही गीतहरु गाए । उनको प्रमोसनल प्रेस मिट थियो त्यो हेटौँडामा र यो कथा टप १६ मा आउनु अघिको हो । अब त जेनिस टप ८ मा आइसके ।

मान्छे दुःख परेपछि आत्मविश्वासी हुन्छ, आत्मबल बढ्छ, यो पहिलदेखि नै हुन्थ्यो, दुःखको जाँतोले पिसेपछि अरु सक्रिय हुन्छ, अध्ययनको विषय हो । तर हेटौँडाका जेनिस उप्रेती उमेरले अबोध बालकको अवस्थाबाट बाहिर छैनन् । जब उनी गीत गुन्गुनाउन थाल्छन्, धर्मेन्द्र झासँग होइन, प्रशिक्षार्थी पत्रकारहरु जेनिशसँग सेल्फी खिच्न थाल्छन् । अहो कस्तो आत्मबल, भरोसा, परिपक्व प्रस्तुति ।

जेनिसको स्वरमै जादू छ । उनी राम्रो गाउँछन् । यसैले त द भ्वाइस अफ किड्समा उनी टप ८ मा छिरेका छन् । टिम प्रमोद खरेलका जेनिस सिजन १ मै अब्बल हुँदै विजेताको ताजका लागि संघर्षरत छन् । यो अभियानमा उनलाई काका रमेश उप्रेतीले साथ दिएका छन् । मकवानपुरको मिडियाले पनि साथ दिएका छन् ।

मातृवियोगी जेनिस
फाइनल राउण्डमा प्रवेश गरेका जेनिसका बाबा वैदेशिक रोजगारीका लागि विदेशमा छन् । आमाको कोरोना कहरबाट ज्यान गयो । मिडियाहरुले भ्युज बढाउन न्युजमा जेनिसको जादूमयी स्वर भन्दा बढी आमाको मृत्युलाई जोडिरहेका छन् । जेनिस पनि आमासँग आशीर्वाद माग्छन् । उनी आमा गुमाउँदा शोकलाई शक्तिमा बदल्न स्वरबजारमा जबर्जस्त उभिएका छन् । तर बुझ्नु पर्ने कुरा के हो भने, आमाको मृत्युको भन्दा चर्चा जेनिसको स्वरको गुणस्तरको हुनुपर्छ । त्यही गुणस्तरको स्वरले जेनिस आज यहाँसम्म पुगेका हुन् ।

२०६७ मा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा जन्मेका जेनिसले केही महिनाअघि क्यान्सर र कोरोनाका कारण आमा गुमाए । बुबा खाडी मुलुक कुबेतमा । चार वर्षकै उमेरमा गीत गाउन शुरु गरेका जेनिस ११ बर्षमै द भ्वाइस अफ किड्स सिजन १ का अब्बल दाबेदार त हुँदैहुन्, विजेता बन्न नसके पनि उनलाई भुल्न नेपाली गीतसंगीत क्षेत्रले दशकौँ सक्दैन, यसरी सबैको मनमुटुमा जेनिस बसिसकेका छन् ।

काका रमेश उप्रेतीसँगै चितवनमा बसिरहेका जेनिस मोडर्न र्बोडिङ स्कुलमा कक्षा ६ मा पढ्छन् । ४ वर्षकै उमेरमा गाउन थालेका जेनिसले उदित नारायण झा र दीपा नारायण झाको स्वरमा रहेको ‘ए मरो हजुर’बाट सिजन १ मा आफूलाई राम्रैसँग स्थापित गरे ।

उदित नारायणकै स्वरमा रहेको ‘यो गाउँको ठिटो म’ले उनलाई अरु तिखार्दै लग्यो अनि प्रमोद खरेलकै गीत ‘यो कुरा गोप्य नैं राखौंला’ले त चर्चाको शिखरमा मात्र पु¥याएन, स्पर्धीहरुलाई निक पर पारे उनले । सेमिफाइनलमा पुग्दा आनन्द कार्कीको ‘जनम जनम जिउँलासँगै’ ले फाइनलिस्टमा आफूलाई समेटेका छन् ।

एक भोट दिउँ न त जेनिसलाई यसरी
जेनिसलाई भोट गर्न खल्ती एप्स डाउनलोड गर्नुपर्नेछ । सोही एप्समार्फत अधिकतम् करिब पाँच हजार मूल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क गर्न सकिनेछ ।