हेटौँडा, १८ पुस । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेकै कारण पत्रकार रमेश बञ्जाराले आफू आवद्ध नेपाल प्रेस युनियनबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही भोग्नुपरेको छ ।

नेपाल प्रेस युनियन मकवानपुरका सदस्य रहेका ईन्द्रप्रसाद बन्जारा ‘रमेश’ ले बानियाँको समाचार लेखेकै कारण कारबाही भोग्नुपर्ने अवस्था आएको बताउनु भयो । कांग्रेसको प्रदेश अधिवेशनको बेला सभापति बन्ने दौडमा रहेका बानियाँविरुद्ध समाचार लेखेका कारण प्रेस युनियनले आफुलाई निष्कासन गरेको बञ्जाराले बताउनु भयो । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले अवैधानिकरुपमा आफूलाई प्रेस युनियनबाट निष्कासन गरिएको दाबी गर्नु भयो ।

बाँनियाको विषयमा समाचार लेखेकै कारण आफुलाई केन्द्रीय समितिले विधानविपरित कारबाहीको हल्ला गरेको र जिल्ला समितिलाई पत्राचार गरेको उहाँले आरोप लगाउनु भयो । उहाँले पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष तथा जिल्ला अध्यक्षकै सहभागितामा भएको बैठकले एउटा श्रमजीवी पत्रकारलाई कारबाहीको सिफारिस गर्नु दुःखद भएको बताउनु भयो ।

एउटा साधारण सदस्यलाई कारबाही गर्न केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा व्यवस्था छ ।