हेटौँडा, १० जेठ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापालाई कटाक्ष गर्नु भएको छ ।

आइतबार नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पहिलो बैठकलाई सम्बोधन गर्दै खतिवडाले ओलीको गठजोड थापासँग भएको र ओली अप्ठेरोमा पर्दा सबैभन्दा बढी थापालाई दुख्ने गरेको बताउनु भयो । ‘केपी ओली समस्या पर्नेबित्तिकै कमल थापाको विज्ञप्ति आउँछ,’ खतिवडाले भन्नु भयो, ‘ओलीलाई काँडा बिझ्दा थापालाई पो चस्स घोच्छ त ।’

नेता खतिवडाले आगामी निर्वाचनमा सम्भव भए वाम लोकतान्त्रिक गठबन्धन र नभए वाम गठबन्धन मिलेर जाने र त्यसको नेतृत्व नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्नुहुने बताउनु भयो । भन्नुभयो, ‘माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमोर्चालगायतका गठबन्धन हुनेछन्, विप्लव र मोहन वैद्यसँग वार्ता भइरहेको छ, त्यसैले माधवकुमार नेपालले पार्टी माओवादीलाई लगेर बुझाउँछ भन्नु स्याल हुइँया मात्र हो ।’ खतिवडाले अबका निर्वाचनमा नेपाली कांग्रेस वाम गठबन्धनसँग मिलेर या एक्लै निर्वाचनमा होमिन सक्ने तर एमाले भनेर देशभर राप्रपासँग कार्यगत एकता गरेर जाने मनस्थितिमा रहेकाले एमालेका धेरै इमानदार नेता कार्यकर्ता त्यतिखेर एकीकृत समाजवादीमा आउने बताउनु भयो ।

खतिवडाले मकवानपुरमा एकीकृत समाजवादी पार्टी कमजोर नरहेको र एमालेको संख्या घटेर आधा हुँदा बाँकी आधा र माओवादीसँगको सहकार्यले मकवानपुरका सबै स्थानीय तहमा विजय हासिल गर्न सक्षम रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘तर सबैले गाउँगाउँ गएर संगठन गर्न जरुरी छ, गठबन्धनमा जितिहालिन्छ भनेर बस्न हुन्न ।’