हेटौंडा, २३ भदौ । निर्वाचन आयोगले दल रोज्न दिएको समय भदौ २२ साँझ ५ बजे सकिएको छ । बागमती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराए ।

निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समय भित्रै १३ प्रदेशसभा सदस्यले नेकपा एमाले पार्टी त्याग गरि नयाँ दल एकीकृत समाजवादी पार्टीको पक्षा सनाखत गराएका हुन् ।

१३ जिल्लाका ३२८ जना स्थानीय जनप्रतिनिधिले एमाले छाडे
बागमती प्रदेशको १३ जिल्लाका ३२८ जना स्थानीय जनप्रतिनिधिले नेकपा एमाले पार्टी छोडेका छन् । उनीहरुले एमाले पार्टी परियाग गरि एकीकृत समाजवादी पार्टी रोजेका हुन् । प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु गरी ३२८ जनाले नेकपा एमाले त्यागेर नेकपा समाजवादीमा सनाखत गरेका हुन् ।

बागमती प्रदेशको चितवन जिल्लाका ३६ जना, मकवानपुरका ३९ जना, धादिङका ८७ जना, नुवाकोटका १० जना, सिन्धुपाल्चोकका २ जना, काभ्रेका ५६ जना, दोलखाका ७ जना, रामेछापका ५ जना र सिन्धुलीका २ जनाले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् । रसुवामा भने कसैले पनि नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएपछि निर्वाचन आयोगले गत भदौ १५ गतेदेखि २२ गतेसम्म स्थनीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।