हेटौंडा, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई आज मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसीबारे थप प्रष्ट पार्न आग्रह गरिएको र सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताउनुभयो । एमसीसीको विषय गाउँ–गाउँसम्म पुगेको र आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वाधीनताप्रति पूर्ण प्रतिबद्ध रहेकाले बहुसङ्ख्यक नागरिकको इच्छा विपरीत र शङ्का गरिरहेको विषय पास हुनुहुँदैन भन्नेमा अडिग रहेको प्रचण्डले बताउनुभयो ।

वाईसीएलले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको छ ।