हेटौँडा, २२ भदौ । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन भएको छ।
आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न आजसम्मको समय दिएको हो । आयोगले भदौ ९ गते एकीकृत समाजवादी र लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी आज भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो।
सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्ने क्रम जारी छ । पुरानो दल छोडेर नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या अन्तिम दिनसम्म आउँदा उल्लेखनीय छ । प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ।
सुदूरपश्चिम प्रदेशमा त एकीकृत समाजवादी संसद्कै ठूलो दल बनेको छ। निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्नसक्ने अनुमान गरेको छ।