हेटौंडा, २१ भदौ । गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका करिब १ सय ठाउँमा बाढी पसेको छ । १ सय ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताउनुभयो ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको एसपी राठौरको भनाई छ । वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ५८ जनाको सकुशल उद्धार गरेको छ ।

कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा राती ३ बजदेखि विहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको छ । यति छोटो समयमा यति धेरै वर्षा विरलै भएको पनि महाशाखाको भनाइ छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ ।