हेटौंडा, २० भदौ । नेपाल र भारतविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दुई मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो । आफ्नै मैदान र समर्थक माझ आजको खेलमा जित निकाल्ने नेपालको लक्ष्य हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो खेलमा गरेका गल्ती सच्याएर दोस्रो खेलमा जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माल्दिभ्समा असोज १५ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबिच मैत्रिपूर्ण फुटबल भएको हो । भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली थप तयारीका लागि कतार जानेछ ।

कतारमा केही हप्ता तयारी गरेर टोली त्यहीँबाट माल्दिभ्स पुग्नेछ ।