हेटौँडा, १९ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको दाबी गर्नुभएको छ।

काभ्रेको बनेपामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियो। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने। नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई संकेत गर्दै रायमाझीले विपक्षीको पुच्छर समातेर हिँडेको आरोप लगाउनुभयो।

नेता रायमाझीले भने, ‘केही नेताहरुले विपक्षी दलको नेतालाई समातेर पुच्छर बनेर हिँडिरहेका छन्। संसदलाई ध्वस्त गरेर परमादेशको सरकार आयो।

नेकपादेखि एमाले फुटाउने सम्मको हर्कत गर्नेले इतिहासमा माफी नपाउने उहाको भनाइ छ। संविधान र लोकतन्त्रको औचित्यलाई समाप्त पारेको उहाले आरोप लगाउनुभयो।

एमाले फुटाउनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको बताउनुभयो। ‘सर्वोच्च अदालतले एमाले एमालेमै, माओवादी माओवादीमै जाओ भन्यो। तर, हामीले मानेनौँ। ओली नेतृत्वमै रहिरह्यौँ’ उहाले भन्नुभयो।

अब देशमा पार्टी भनेको एमाले र कांग्रेस मात्रै हुने उहाले दाबी गर्नुभयो। १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर पार्टी एकतालाई असर नपर्नेगरी लाग्न उनहाले निर्देशन दिनुभयो।