हेटौंडा, १९ भदौ । मनसुन सुरु भइसँगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ जना पुरुष, ३४ जना महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लगातारको वर्षाका कारण आएको पहिरोमा परेर पर्वतमा मात्रै हिजो ११ जनाको ज्यान गएको छ । बाढीपहिरो र डुबानमा परी यस अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
बाढीपहिरोमा परी बेपत्ता भएका ४४ जनाको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ ।