हेटौंडा, १७ भदौ । मकवानपुरमा विद्यालय सञ्चालनको विषयमा आज जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनका लागि अध्ययन गर्न भदौ ९ गते शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलले आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विद्यालय सञ्चालन सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने कार्यदलका संयोजक एवम् शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख खरेलले बताउनुभयो । कार्यदलले आवश्यक सम्पूर्ण अध्ययन गरेर सकाएकाले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई प्रतिवेदन प्रस्तुत गर्न लागेको खरेलको भनाई छ ।

शक्तिखवर डटकमसँग कुराकानी गर्दै खरेलले जिल्लामा वैकल्पिक माध्यमबाट शिक्षणसिकाई क्रियाकलाप सञ्चालन भइरहेको बताउनुभयो । वैकल्पिक माध्यमबाट शिक्षण भौतिक रुपमा उपस्थित भएर गरिएको पठनपाठन जस्तो प्रभावकारी भने नहुने खरेलको भनाई छ ।

प्रतिवेदन बुझाइसकेपछि मात्र कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय गर्ने छ ।