हेटौंडा, १६ भदौ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजिनामा दिनुभएको छ । उहाँले (बुधबार) आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजिनामा दिनुभएको हो । खनालले विचार नमिलेको कारण आफुले राजिनामा दिएको बताउनुभएको छ ।

खनालले एमालेबाट विभाजन भई बनेको नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको थियो । उहाँँ गत भदौ २ गते शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बन्नुभएको थियो ।

यसैगरि हिजो नेकपा एमालेका १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको छ । अव उहाँले एक महिना भित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ । अल्पमतमा परेसँगै नेपाली काँग्रेसले पनि मुखयमन्त्री शाक्यको राजिनामा माग गरेको छ ।