हेटौंडा, १५ भदौ । बागमती प्रदेश सभाका १२ जना सांसदले नेकपा एमाले छोडेका छन् । उनीहरुले एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
१२ जना प्रदेश सभा सदस्यले आज मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर एकीकृत समाजवादीको नाममा सनाखत गरेको भक्तपुरका प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न समयसिमा निर्धारण गरेको थियो ।
आज प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने १२ जना सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन् ।
यससँगै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । उहाँले अब एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । १ सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेको छ । गत भदौ २ गते अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।