हेटौंडा, १४ भदौ । सत्ता गठबन्धनका शिर्ष नेताहरु बिच मन्त्रिपरिषद्लाई छिटै पुर्णता दिने विषयमा सहमति जुटेको छ । आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्यांकन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा गत असार २९ मै नियुक्त हुनुभएको हो । तर, अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसक्दा देउवाको आलोचना भइरहेको छ ।